अमेरिकामा मेसेजिङ एप वि च्याट पनि प्रतिबन्ध हुँदै
वि.सं.२०७७ भदौ १ सोमवार २२:२७
1.7K
shares
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै सामाजिक सञ्जाल तथा सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताएको छ ।
टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को एक कार्यकारी आदेश पनि जारी गर्दै विश्व प्रविधि उद्योगको व्यवसायलाई तहस नहस बनाउने सम्भावना देखिएको छ ।
आगामी ४५ दिनभित्र अमेरिकामा चिनियाँ मेसेजिङ एप वि च्याटलाई समेत प्रतिबन्धित गर्ने निर्णय ट्रम्पले गरेका छन् । विच्याटमाथि ट्रम्प प्रशासनको हमला पश्चात् कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ ।
चिनियाँ कम्पनी टेनसेन्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको व्यवसाय प्रविधि तथा स्टार्टअप प्रणाली लगायतमा विश्वव्यापी बनिसकेको छ । आम्दानीको हिसाबले विश्वको सबैभन्दा ठूलो गेमिङ कम्पनीको रुपमा रहेको टेनसेन्टले इपिक गेम्स, ग्लु तथा युनिभर्सल म्युजिक ग्रुप लगायतका विभिन्न अमेरिकी गेमिङ तथा मनोरञ्जन कम्पनीहरुमा लगानी गरिसकेको छ ।
प्राइभेट कम्पनीहरुमा सबैभन्दा धेरै लगानी गर्नेमा टेनसेन्ट दोश्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिकाको सेक्विया क्यापिटल रहँदा जापानी कम्पनी सफ्टब्यांक ग्रुप तेश्रो स्थानमा छ । टेनसेन्टलाई अहिले अमेरिकामा चिनियाँ सफ्टबैंकको नामले पनि चिन्न थालिएको छ, जसले प्राइभेट कम्पनीमा १ अर्ब डलरभन्दा धेरै लगानी गरिसकेको छ ।
आगामी दिनमा ट्रम्प प्रशासन केवल विच्याटमाथि मात्र केन्द्रित हुन्छ कि विस्तृत रुपमा टेनसेन्ट कम्पनीमाथि नै छानविन अगाडि बढाउँदछ भन्ने कुराले विश्वको डिजिटल बजारलाई आधारभूत रुपमा परिवर्तन गराइदिनेछ ।
वि.सं.२०७७ भदौ १ सोमवार २२:२७


















