ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका
वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६
348
shares
भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको अन्वेषण, उत्खनन्, संरक्षण, जगेर्ना र प्रवर्द्धन गर्न नेपाली सेनाले थुप्रै काम गर्दै आएको छ । राष्ट्र निर्माणमा योगदान पुर्याएको नेपाली सेनाले नेपालका ऐतिहासिक गढी, किल्ला, युद्ध स्थल तथा पाटी-पौवाहरूको पहिचान गरी संरक्षण र संवर्द्धनको काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतको भनाई छ । यसका साथै नेपाल सरकारको समन्वयमा नेपालको एकीकरण अभियानसँग जोडिएका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाहरूको संरक्षण गर्ने उद्देश्यसहित एकीकरण मार्गको पहिचान गरी उक्त क्षेत्रमा पर्ने धरोहरहरूको संरक्षण, प्रवर्द्धनमार्फत् सामूहिकता र राष्ट्रिय एकता निर्माणका साथै ऐतिहासिक पर्यटन प्रवर्द्धनको सम्भावनालाई समेत नेपाली सेनाले टेवा पुर्याएको छ ।
देशका विभिन्न स्थानहरूमा रहेका ऐतिहासिक र साँस्कृतिक धरोहरहरूको जगेर्ना गर्ने कार्यको निरन्तरतास्वरूप नेपाली सेनाले बुकाचोगढीको संरक्षण गरेको थियो । यस्ता ऐतिहासिक स्थलहरूको पहिचान एवम् प्रत्यक्ष अवलोकन गरी तिनका बारेमा जानकारी हासिल गर्न मद्दत पुर्याउनुका साथै ऐतिहासिक स्थलहरूको प्रचार-प्रसार हुन गई आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुने र स्थानीय बासिन्दाको जीविकोपार्जन तथा आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यका साथ सैनिक प्रवक्ता सहायक रथी बस्नेतको नेतृत्वमा रक्षा पत्रकारहरुको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा अवस्थित बुकाचोगेढी एक महत्त्वपूर्ण ऐतिहासिक, सामरिक तथा पर्यटकीय गढी हो । भक्तपुर सदरमुकामबाट करिब ५ कि.मी. दक्षिण-पूर्वमा रहेको यो गढी सिङ्गो काठमाडौँ उपत्यका र काभ्रे जिल्लाका बस्तीहरू सहज रूपमा अवलोकन गर्न सकिने, अग्लो स्थानमा रहेकाले दृश्यावलोकन स्थानका रूपमा स्थापित छ । यस गढीको वरिपरि आशापुरी महादेव, अनन्तलिङ्गेश्वर, डोलेश्वर र मुण्डलेश्वरजस्ता पवित्र धार्मिक स्थलहरू रहेका छन् ।

इतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा सञ्चालन भएको नेपाल एकीकरण अभियानका क्रममा गोरखाली फौजले उपत्यका जित्नका लागि मल्लकालीन पुराना किल्लालाई सामान्य मर्मत-सम्भार गरी रणनीतिक गढीका रूपमा उपयोग गरेका थिए । वि.सं. १८२६ कात्तिक २९ गते गोरखाली सेनाले भक्तपुरमाथि विजय हासिल गर्दा यस गढीलाई सामरिक ‘भ्यान्टेज प्वाइन्ट’ तथा भन्सार चौकीका रूपमा प्रयोग गरेको इतिहासमा पढ्न पाइन्छ ।
नेपाली सेनाले सूर्यविनायक नगरपालिकाको सहकार्यमा यस गढीको पुनरुत्थान गरेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यसलाई अमरगढी शैलीमा ६०-६० फिटको गढी निर्माण गर्ने योजनाअनुसार हाल पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसहित गढीको भाग निर्माण गरिएको छ । वि.सं. २०७९ पौष १५ देखि शुरु भई २०८० जेठ ३२ मा निर्माण सम्पन्न भएको यो संरचना २०८० असार १५ मा समुद्घाटन गरी २०८० असार ३१ मा सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । साथै नेपाली सेनाले आर्थिक वर्ष ०७८/०७९ मा करिव ६० फिटको भ्यु-टावरसमेत निर्माण गरेर सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
नगरकोट-साँगा-बुकाचोगेढी-रानिकोट-लाँकुरी भञ्ज्याङ पदमार्गसँग जोडिएको यो गढीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय बासिन्दाको जीविकोपार्जनमा समेत प्रत्यक्ष सहयोग पुर्याहउँदै आइरहेको साथै यो क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा थप विकास गर्न नेपाली सेनाले पुर्याएको योगदानको सूर्यविनायक नगरबासीले प्रशंसा गरेका छन् ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६




















