१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक
वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२
45
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । त्यसका लागि बैंकले सम्बन्धित क्षेत्रमा घर वा फ्ल्याट भाडामा खोजेको छ । बैंकले मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार स्थानमा रहेका शाखा स्थानान्तरण गर्न घर भाडामा लिन लागेको हो । बैंकले धनुषाको मिथिला नगरपालिका-६ स्थित ढल्केवर, मकवानपुरको मनहरी गाउँपालिका-७, रुपन्देहीको मायादेवी गाउँपालिका-६ स्थित बेथरी र कञ्चनपुरको बेलौरी नगरपालिका-४ मा शाखा स्थानान्तरण गर्न घर खोजेको छ ।
बैंकका अनुसार सम्बन्धित स्थानमा करिब ९०० देखि १ हजार ४०० वर्गफिट क्षेत्रफल भएको घर वा फ्ल्याट आवश्यक छ । इच्छुक घरधनीले १५ दिनभित्र आवश्यक कागजातसहित खामबन्द प्रस्ताव पेस गर्नुपर्नेछ । बैंकले भाडामा लिन चाहेको घर सडकसँग जोडिएको र पिल्लर प्रणालीमा निर्माण भएको हुनुपर्ने सर्त राखेको छ । घरको भुइँ तला वा पहिलो तलामा तोकिएको क्षेत्रफल उपलब्ध हुनुपर्नेछ । त्यस्तै, पार्किङ, एटीएम र जेनेरेटर राख्ने ठाउँको व्यवस्था पनि हुनुपर्नेछ ।
घर भाडामा दिन इच्छुक घरधनीले घरजग्गाको स्वामित्व प्रमाणपत्र, घरको नक्सा पास प्रमाणपत्र, घर सम्पन्नताको प्रमाणपत्र र जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्तावमा घरको विवरण र मासिक भाडादरसमेत स्पष्ट उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले कम्तीमा १० वर्षका लागि घर भाडामा लिन चाहेको छ । घरमा रंगरोगन, भल्ट कोठा, बाथरुम तथा शौचालय निर्माण, टायलिङ र फल्स सिलिङजस्ता सुविधा घरधनीले उपलब्ध गराउन सक्ने वा बैंकले आफैँ तयार गर्नुपर्ने अवस्थाबारे पनि प्रस्तावमा खुलाउनुपर्नेछ । भाडामा दिन प्रस्ताव गरिएको घर कुनै कानुनी विवादमा नरहेको, सडक मापदण्डभित्र नपर्ने तथा सम्बन्धित नियमनकारी निकायका मापदण्ड पूरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२




















