वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प
वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४
114
shares
गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी सदैव अहोरात्र खटिँदै आएको र गत भदौ १० गतेको रसुवा भोटेकोशी, मनाङ-मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदासमेत विचलित नभई नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीहरूको धैर्य र समर्पणको उच्च मूल्याङ्कन गरेका छन् ।
गृहमन्त्री गुरूङले ७१औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै नागरिकको हरेक गुनासो, पीरमर्का, जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा बहन गर्नुपर्ने उल्लेख गरे । बोलीचाली, आचरण र कार्यशैलीलाई नागरिकमैत्री बनाउँदै भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध कुनै सम्झौता नगरी अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति कायम गरी कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका गृहमन्त्री गुरुङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यवसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पुर्याउनुका साथै सेवाबाट निवृत्तपश्चात् पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिबृद्धिमा निरन्तर योगदान पुर्याएका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक डा.प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए । साथै उनले अन्तर-प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई ‘प्रहरी ब्याटन २०८३’ प्रदान गरे ।
सो अवसरमा गृहमन्त्री गुरूङले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’, ईलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायब निरीक्षक निवन्धबहादुर बुढालाई ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ तथा प्रहरी चौकी कोठियाघाट बर्दियाका प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी चौकी जोलजिवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरेका थिए ।
गृहमन्त्री गुरूङले कैलाली धनगढी उपमहानगरपालिका-१० का अमर प्रहरी स्वर्गीय प्रहरी जवान पदमबहादुर साउदको छोरा विप्लब साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार रामबहादुर साउदकी छोरी रञ्जना साउदलाई ‘अच्युत-मीना अमर प्रहरी पुरस्कार’ तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान रामबहादुर साउदकी छोरी नविना साउदलाई ‘अच्युत-मीना छात्रवृत्ति’ समेत सोही अवसरमा प्रदान गरेका थिए । साथै उनले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अजयकुमार साहलाई ‘मोती-कला-मिथिला अमर प्रहरी छात्रवृत्ति’ प्रदान गरेका थिए ।
त्यसैगरी गृहमन्त्री गुरूङले कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए भने नेपाल प्रहरीको कार्यसम्पादन, संस्थागत विकास, व्यवसायिकता तथा प्रहरी गतिविधिहरूलाई अभिलेखीकरण गर्दै प्रहरी संगठनको पहिचान, उपलब्धि र योगदानलाई उजागर गर्ने महत्वपूर्ण प्रकाशन ‘प्रहरी दर्पण २०८३’ को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको पुस्तिका तथा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूको सम्झनामा तयार पारिएको ‘प्रहरी स्मारिका २०८३’ को लोकार्पणसमेत गरे ।
त्यस अवसरमा गृहमन्त्री गुरूङले प्रहरीको बर्दी डर र त्रासको नभई आशा-भरोषा र नागरिक-प्रहरी सहकार्यको प्रतिक बन्नुपर्ने भन्दै क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्ने उल्लेखसहित नेपाल प्रहरीलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउन सात दशकअघिको कानूनमा सुधार, आवास, स्वास्थ्यलगायतका सेवा-सुविधामा सुधार, सरूवा-बढुवालाई व्यवस्थित बनाउने, काम र नतिजाको आधारमा मूल्याङ्कन गर्ने प्रणालीको विकासमा नेपाल सरकारले काम गरिरहेको चर्चा गरे । त्यस अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीद्वारा अमर प्रहरीका परिवारहरूलाई सदभाव सहयोग प्रदान गरिएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गर्नुका साथै नेपाल प्रहरीलाई आफ्नो सन्देशमार्फत् मार्गदर्शन, अभिभावकत्व र हौसला प्रदान गरेकोमा प्रधानमन्त्रीमा हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको र यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटहरूलाई एकै ठाउँमा ल्याई नागरिकका गुनासाहरू थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गर्नुका साथै एआई, एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट र इण्टिग्रेटेड एण्टी-स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रहरी महानिरीक्षक कार्कीले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाल प्रहरी आफ्नो मूल दायित्व जनताको सेवा, समुदायको सुरक्षा, विधिको शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिबृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताए । अमर प्रहरीहरूको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउने तथा भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प रहेको उनको भनाई थियो । प्रहरी महानिरीक्षक कार्कीले ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ लाई आदर्श वाक्यका रूपमा अघि बढाउँदै बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै विकसित हुँदै गएका सुरक्षा चुनौतीहरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई सक्षम, व्यवसायिक तथा नविनतम् प्रविधिले सु-सज्जित संगठनका रूपमा विकास गर्नु आजको प्राथमिकता रहेको उल्लेख गरे । यसैगरी ७१ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अमर प्रहरी परिवारहरूसँग भेटघाट गर्नुका साथै अन्तरक्रियासमेत गरेका थिए ।
वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४




















