लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता
वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६
45
shares
काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले विभिन्न कारणले केही सेयरधनीको खातामा नगद लाभांश भुक्तानी हुन नसकेको भन्दै सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरेको हो । बैंकको ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएसँगै बैंकले असोज २२ गतेदेखि नै सेयरधनीलाई नगद लाभांश वितरण गर्न थालेको जनाएको छ ।
तर, कतिपय सेयरधनीले अझै नगद लाभांश प्राप्त गर्न सकेका छैनन् । सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खातासम्बन्धी विवरण नमिलेको, सेयर धितोमा रहेको वा अन्य विविध कारणले लाभांश भुक्तानी हुन नसकेको बैंकले जनाएको छ । यस्ता सेयरधनीलाई आवश्यक विवरण तथा प्रक्रिया मिलाएर नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । लाभांश भुक्तानीसम्बन्धी थप जानकारी तथा सहयोगका लागि सेयर रजिस्ट्रार कार्यालयकी नेहा प्रजापतिलाई सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले यसअघि वितरण गरेका नगद लाभांशसमेत केही सेयरधनी वा उनीहरूका हकवालाले दाबी नगरेको जनाएको छ । साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडका सेयरधनीले पाउन बाँकी नगद लाभांशसमेत सेयर रजिस्ट्रार कार्यालयमा सम्पर्क गरी बुझिलिन बैंकले अनुरोध गरेको छ ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६




















