नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१
1K
shares
वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा भेटिएका गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभर करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने साइबर सुरक्षा विज्ञले चेतावनी दिएका छन् । नेपालसहित संसारभरका करोडौं सरकारी साइट बन्द छन् । बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी अफ सरेको सेन्टर फर साइबर सेक्युरिटीका प्राध्यापक एलन वुडवर्डका अनुसार, यी कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले वेबसाइटको सर्भरमा आफ्नै कोड राख्न र त्यसमा अनधिकृत गतिविधि गर्न सक्छन् ।
बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै उनले यसबाट व्यक्तिगत तथ्यांक चोरी गर्ने, संस्थाको नेटवर्कका अन्य भागमा प्रवेश गर्ने वा भविष्यमा पुनः पहुँच प्राप्त गर्न सर्भरमा ‘ब्याकडोर’ राख्ने जोखिम रहेको बताए । वुडवर्डका अनुसार, अनलाइन गतिविधि निगरानी गर्ने अमेजन र क्लाउडफ्लेयरजस्ता कम्पनीले प्रभावित हुन सक्ने वेबसाइटहरूमा कमजोरीको परीक्षण भइरहेको संकेत देखेका छन् । तर वेबसाइटहरूमा वास्तविक आक्रमण भइसकेको छ वा छैन भन्ने पुष्टि नभएको उनले स्पष्ट पारे ।
एआईले बढायो कमजोरीको दुरुपयोग जोखिम
वुडवर्डका अनुसार, एज्ए मा रहेका यी कमजोरी सन् २०२४ मै मानिसहरूले पत्ता लगाएका थिए । तर त्यसबेला तिनको दुरुपयोग गर्न अत्यन्तै जटिल हुने ठानिएको थियो । ठूला भाषा मोडेल (एलएलएम) सहितका कृत्रिम बुद्धिमत्ता प्रविधि विकसित हुँदै गएपछि भने ती कमजोरीको व्यावहारिक रूपमा दुरुपयोग गर्न सकिने उपाय पत्ता लागेको उनले बताए । पछिल्लो एक सातामा पर्दापछाडि यस्ता कमजोरीको दुरुपयोग गर्ने सम्भावनाबारे काम भइरहेको उनको भनाइ छ ।
सुरक्षा कमजोरी समाधान गर्न आवश्यक अपडेट अर्थात् ‘प्याच’ सार्वजनिक हुनुअघि नै त्यसको विवरण बाहिरिएको हुन सक्ने पनि उनले बताए । यसले आक्रमणकारीलाई सुरक्षा अपडेट उपलब्ध हुनुअघि नै कमजोर प्रणाली पहिचान गर्ने अवसर दिएको हुन सक्छ ।
बेलायतसहित विभिन्न देशमा सतर्कता
बेलायत सरकारले आफ्ना अनलाइन सेवामा यी कमजोरीको सम्भावित प्रभाव पहिचान गर्न काम गरिरहेको जनाएको छ । सरकारी प्रवक्ताले निजी तथा सार्वजनिक क्षेत्रका ठूला–साना सबै संस्थालाई आफ्नो प्रणाली सुरक्षित राख्न जारी निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले युरोपेली संघ र अस्ट्रेलियाका समकक्ष निकायसँगै एज्ए प्रयोग गर्ने संस्थालाई सुरक्षा अपडेट तत्काल लागू गर्न आग्रह गरेको छ । तत्काल सुरक्षा उपाय लागू गर्न सम्भव नभए प्रणाली पूर्ण रूपमा सुरक्षित नबनुन्जेल अफलाइन राख्नुपर्ने एनसीएससीको सुझाव छ ।
यसअघि सार्वजनिक भएका विवरणअनुसार, एज्ए का कमजोरी समाधान गर्न विकासकर्ताले सुरक्षा अपडेट जारी गरिसकेका छन् । साइबर सुरक्षा निकायहरूले प्रभावित प्रणालीमा अपडेट लागू गर्नुका साथै आक्रमणकारीले अनधिकृत पहुँच कायम राख्न प्रयोग गर्न सक्ने ‘ब्याकडोर’ को सम्भावनासमेत जाँच्न आग्रह गरेका छन् ।
करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने अनुमानले यो समस्याको सम्भावित व्यापकता देखाए पनि सबै वेबसाइट प्रभावित भइसकेका छन् भन्ने अर्थ नलाग्ने विज्ञहरूको चेतावनी छ । वास्तविक जोखिम सम्बन्धित वेबसाइटले प्रयोग गरिरहेको एज्ए संस्करण, सुरक्षा अपडेट लागू गरे–नगरेको अवस्था र प्रणालीमा कमजोरीको दुरुपयोग भएको छ कि छैन भन्नेमा निर्भर हुनेछ ।
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१



















