लकडाउनको सदुपयोग गर्दै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गरे मस्ती
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:१६
1.5K
shares
एजेन्सीः चीनबाट फैलिएको कोरोना भाइरस महामारीका कारण विश्व खेलकुद नै ठप्प भएको अवस्थामा सम्पुर्ण खेलाडीहरु फुर्सदमा छन् । होम क्वारेन्टाइनमा बस्दै सेल्फ ट्रेनिङ र आफुलाई फिट राख्नुमात्रै अहिले खेलाडीको दैनिकी बनेको छ । तर, यस्तो लकडाउनको अवस्थामा पनि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने मस्ती गरेका तस्वीर तथा भिडियोहरु सामाजिक सन्जालमा पोस्ट गरेका छन् ।
रोनाल्डोले आफ्नो आमालाई भेटेको, आफ्नो प्रेमिका जर्जिना रोड्रिग्वेजको हातबाट कपाल कटाएको र प्रशिक्षण गरेको तस्वीरहरु फरक-फरक समयमा पोस्ट गर्दै लकडाउनलाई मस्तसँग सदुपयोग गरेको अनुमान गर्न सकिन्छ । सामाजिक सन्जालमा निकै सक्रिय रहने रोनाल्डोले गत मंगलबार पोर्चुगलबाट इटली फर्कनुअघि आफ्ना ९ वर्षका छोरासँग पोर्चुगलस्थित मडेरियामा रहेको मडेरिया आइल्यान्डको सुन्दर टापुको तस्वीर पोस्ट गरेका छन् ।
रोनाल्डो अहिले इटालीमा १४ दिनका लागि सेल्फ आइसोलेसनमा रहेका छन् । रोनाल्डोले आइसोलेसनमा रहँदै मडेरिया आइल्यान्डमा छोरासँग खिचेको सुन्दर तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । इटलीमा १० मार्चदेखि लकडाउन रहेको छ । ४ मार्चदेखि इटालियन क्लबहरुले प्रशिक्षण थाल्ने बताएपछि रोनाल्डो गत मंगलबार इटाली पुगेका थिए । तर, रोनाल्डोले दुई साता टोलीसँग प्रशिक्षण गर्ने छैनन् ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:१६



















