किरात राई लेखक सङ्घद्वारा विश्वव्यापी खुल्ला कविता प्रतियोगीताको आह्वान
वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:०१
2.1K
shares
काठमाडौं : किरात राई लेखक सङ्घले किरातहरुको महत्वपूर्ण चाड साकेलाको अवसर पारेर साकेला खुल्ला कविता प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको छ । यो कार्यक्रम साकेलालाई अझ स्थापित गराउने उद्देश्यले किरात लेखक सङ्घ केन्द्रीय कार्यसमिति, काठमाडौंले आयोजना गर्न लागेको हो ।
आगामी पौष १२ गते हुन लागेको यो प्रतियोगिताको लागि बढीमा दुई सय शब्दको कविता लेखेर मंसिर २५ गते भित्र किरालेसङ्घको आधिकारिक इमेल ठेगाना [email protected] मार्फत पठाउन हुन विश्वभर छरिएर रहेका नेपालीहरुलाई आयोजकले आह्वान गरेको छ । प्रतियोगितामा समावेश हुने कविता साकेलालाई दर्साउने हुनु पर्ने किरालेसङ्घको अध्यक्ष खुक्सङ खुम्बु राईले जानकारी दिनु भएको छ । अध्यक्षको भनाई अनुसार कविता मातृभाषा, नेपाली र अङ्ग्रेजी गरी तीन भाषामा लेख्न सकिने छ ।
प्राप्त सबै कविताहरुबाट पहिलो चरणमा उत्कृष्ट ३० कविको कविता छनौट गरिने छ र उक्त प्रतियोगीहरु मात्र अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् । उक्त ३० भित्र पर्न सफल प्रतियोगीहरुले कविता वाचनको आफ्नो भिडिओ पौष ५ भित्र आयोजकलाई पठाइसक्नु पर्ने बताइएको छ ।
किरालेसङ्घका अनुसार अन्तिम चरणबाट छानिएका प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त प्रतियोगी विजेताहरुले क्रमशः २०, १५, १० र ५ हजार नगदसहित मेडल, पुस्तक र प्रमाण पत्र प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार ३ जनालाई प्रदान गरिने छ ।
पुरस्कारको प्रायोजन भने ख्याति प्राप्त कलाकारहरुले गरेका छन् । जस अन्तर्गत प्रथम पुरस्कार गायक राजेशपायाल राईले, दोस्रो पुरस्कार अभिनेता दयाहाङ राईले, तेस्रो पुरस्कार हाँस्यकलाकार तथा अभिनेता विल्सन विक्रम राईले र सान्त्वना पुरस्कारको लागि भिमसेनगोला स्थित निशाना सहकारी, यलम्बर कृषि फर्म, चाबहिल स्थित सत्कार क्याफे र कवि कविता राई गाउँलेले गरेका छन् । साथै विजेताहरुलाई गायीका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धी राईको तर्फबाट पनि विशेष उपहार रहेको आयोजकले जानकारी दिएको छ ।
कविता प्रतियोगितामा सहभागी हुनको लागि तलको इमेजमा दिइएको सर्तहरु पढ्नुहोस्

वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:०१




















