सार्वजानिक आव्हान
वि.सं.२०७६ पुस ४ शुक्रवार १६:२१
1.6K
shares
अहँ:
मेरो गाउँमा भ्रष्टाचार छैन ।
गाउँको बिकास गरेर
कमाएको पैसा
काठमाडौंमा थन्काएका मात्रै हुन्
१ गिलास नर्सिङटोक
र, १०० को रिचार्जमा
हाम्रो सार्वभौमसत्ता सट्न माहिर
चलाख बुद्धिजीविहरुले ।
काठमाडौंमा घर बनाउन, घडेरी जोड्न
मेरा गाउँका
सोझा दाजुभाई दिदी बहिनी परदेश लाग्छन्
तर चलाख, माहिर ती बुद्धिजीवीहरुले
मेरै गाउँमा पसिना काडेर काठमाडौंमा
आलिसानको महल, घडेरी जोडीरहेका छन् ।
नेपाल खाल्डोमा मात्रै होइन
जिल्ला सदरमुकामदेखि
गाउँघरको चल्तीको नयाँ जक्सन बजारमा
नगर, गाउँ तथा वडा पालिका सदरमुकाममा घडेरी छ
छोराछोरी काठमाडौंको नाम चलेकै स्कुलमा पढाएका छन्
शहरियाहरु पिआर र ग्रिनकार्ड ताक्छन् भने
गाउँलेले काठमाडौं ताक्नु स्वभाविकै हो
भनुम् त कसरी भ्रष्ट्राचार हुन्छ मेरो गाउँमा ?
भ्रष्ट्राचार हुनै सक्दैन, १, २, ३ पक्का ।
उहिले दशैंमा
शहरबाट गाउँ जाने लर्को हुन्थ्यो
अहिले
गाउँबाट शहर पस्ने लर्को छ
कसरी मेरो गाउँ गरिब हुन्छ ?
उहिले पैसा हुने शहर पस्थे
अहिले पैसा हुने गाउँ पस्छन्
कसरि मेरो गाउँ आकर्षक छैन ?
नेपाली दलाल धनीमानी त भए भए,
विदेशीहरु समेत धन कमाउन
मेरो गाउँ आएका छन्
मान्छे त आए आए,
नेपाली बैंक समेत
मेरो गाउँमा पसेका छन्
नेपाली मात्रै कहाँ हो र,
एसिया, युरोपियन बैंक मात्रै होइन
विश्व बैंक नै मेरो गाउँमा कमाउन पसेको छ ।
यहाँका हल्लाखोर
यहाँका भ्रष्ट्राचारीहरु
सबै सबै
अहिले कि त शहरमा छन्
कि त परदेशमा छन्
यसैले यहाँ सुन्दर शान्त सुरक्षित छ
र, यहाँ भद्र भलादमीको बास छ
अनि पो यहाँ लगानी भित्रीएको छ
र त मेरो गाउँमा भ्रष्ट्राचार छैन
मह काढ्नेले हात चाटी हाल्छ
तपाईँलाई पनि स्वागत छ
आउनुहोस् मिलेर मह काढौं र हात चाटौं
त्यही भेडा मुडेर त्यही भेडालाई भारी बोकाउन सिकौं ।
वि.सं.२०७६ पुस ४ शुक्रवार १६:२१



















