हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच गाभ्न गाभिन सम्झौता
वि.सं.२०७८ जेठ १ शनिवार १६:२२
1.8K
shares
काठमाडौं: हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिहिबार हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतम तथा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता अनुसार संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने जनाइएको छ ।
मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुने जनाएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ र सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।
त्यस्तै, हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्टको १६० अर्ब ९८ करोड रुपैयाँ र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८ अर्ब २९ करोड रुपैयाँ र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपैयाँ रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
यी दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचितरहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछन् । साथै, यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
यो पनि पढ्नुहोस् :
अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम ठप्प
वि.सं.२०७८ जेठ १ शनिवार १६:२२




















