प्रभु बैंकले कोभिड प्रभावितहरुलाई बिना धितो ऋण उपलब्ध गराउने
वि.सं.२०७७ असोज ८ बिहीवार १३:४६
1.9K
shares
काठमाडौं: प्रभु बैंकले सहयात्रा समृद्धिको नामक नयाँ कर्जा योजनामार्फत कोरोनाबाट प्रभावितहरुलाई बिना धितो ऋण उपलब्ध गराउन थालेको छ।
बैंकले सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ अन्तर्गत रहेर आइडिया स्टुडियोसँगको सहकार्यमा नयाँ ऋण योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले कोरोनाका कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीको आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न ऋण योजना ल्याएको हो।
सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बीच बाँचिरहेका छन् । नियमित रूपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घर व्यवहार चलाउन उनीहरु बाध्य छन्।
अर्कोतिर, विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन्।
नयाँ कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौं उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाइ अधिकतम १ लाख रुपैयाँ र बिद्यालय शिक्षकहरुलाई अधिकतम ४ लाख कर्जा सुविधा उपलब्ध गराउने छ।
वि.सं.२०७७ असोज ८ बिहीवार १३:४६




















