पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का
वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५
300
shares
काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ । न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको समूह ‘सी’ को निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँडेका हुन् ।
बराबरीसँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा जित निकाल्न नसकेको आठ वर्षपछि यो पहिलो पटक हो । यसअघि सन् २०१८ को विश्वकपमा ब्राजिल आफ्नो पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ गोलकै बराबरीमा रोकिएको थियो । यद्यपि, मोरक्कोसँगको यो नतिजाले ब्राजिलको एउटा ऐतिहासिक कीर्तिमानलाई भने निरन्तरता दिएको छ । सन् १९३४ को दोस्रो विश्वकपमा स्पेनसँग पराजित भएयता ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा कहिल्यै हारेको छैन ।
न्युजर्सीको मैदानमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दक्षिण अमेरिकी ब्राजिललाई दबाबमा राखेको मोरक्कोले २१ औँ मिनेटमा अग्रता लिएको थियो । ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड इस्माइल साइबारीले चलाखीपूर्ण ‘स्कुप’ सटमार्फत गोल गरेका थिए । तर ब्राजिलका लागि खेलको ३२ औँ मिनेटमा ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा ब्राजिलका स्टार विनेसियस जुनियरले सानदार गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफ रोचक र तीव्र गतिमा भएपनि दोस्रो हाफमा खेल केही सुस्त देखिएको थियो । ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार कार्लो अन्सेलोटीका लागि यो पहिलो ठुलो र चुनौतीपूर्ण परीक्षा थियो । घाइते भएका कारण टोलीका मुख्य स्ट्राइकर नेयमार बिना नै मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व महान् खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका समेत उपस्थित थिए ।
दोस्रो हाफमा ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको जितको बाटोमा बाधक बने । खेलको अन्तिम क्षणमा मोरक्कोले पनि खेल जित्ने सुनौलो मौका पाएको थियो, तर ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउन गरेका थिए ।
यो बराबरीपछि समूह ‘सी’ मा रहेका ब्राजिल र मोरक्को दुवैले समान १-१ अंक जोडेका छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीको सामना गर्नेछ भने मोरक्कोले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५




















