कोरोना कहरकै बीच एक अर्ब लगानीको कागज उद्योग संचालन
वि.सं.२०७७ साउन २९ बिहीवार १५:२४
1.4K
shares
काठमाडौं: कोरोनाको महामारीको बीचमा नवलपुरमा एक अर्ब रुपैयाँ लगानीमा कागज उद्योग संचालनमा आएको छ।
चार युवा मिलेर ११ विघा जग्गामा क्वालिटी पेपर उद्योग स्थापना गरेका छन् । उद्योगमा प्रभु बैंकको ऋण लगानी रहेको छ ।
नेपालमा प्याकेजिङका कागज भारत र चीनबाट आयात गर्नु पर्ने अवस्था रहेकोले उद्योगले पहिलो चरणमा प्याकेजिङ कागज उत्पादन गर्ने कम्पनीका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।
गुप्ताले निकट भविष्यमा सेतो कागजको उत्पादन सुरु हुने र स्वदेशमै कागज उत्पादन गरेर आत्मनिर्भर अर्थतन्त्रलाई टेवा दिन खोजेको बताउनु भयो ।
नेपालमा प्रयोग भइसकेका कागज सस्तो भाउमा विदेश निर्यात भइरहेको अवस्थामा स्वदेशमानै खेर गएका कागज पुनःप्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने मुख्य उद्देश्य रहेको प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए।
उद्योगले नेपाली बजारबाट निस्कने दैनिक १ सय १५ टन प्रयोग भइसकेका कागज प्रशोधन गरि १ सय २० टन कागज उत्पादन गर्नेछ।
उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिएको र उद्योगबाट उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरको कागज सुलभ मूल्यमा बिक्री गरिने बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।
वि.सं.२०७७ साउन २९ बिहीवार १५:२४




















