चौधरी फाउण्डेसनद्वारा ८ वटा भेण्टिलेटर सहयोग
वि.सं.२०७७ साउन २९ बिहीवार १५:३७
1.8K
shares
काठमाडौं: चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ ।
चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत ८ वटा भेन्टिलेटर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नु भएको छ ।
फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउने बताइएको छ ।
चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा यो सहयोग अतुलनीय छ ।’
फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का गम्भीर विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए।
चौधरीले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे।
कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको जनाएको छ ।
वि.सं.२०७७ साउन २९ बिहीवार १५:३७



















