साढे १७ लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक
वि.सं.२०८१ मंसिर १२ बुधवार ०८:२८
1K
shares
काठमाडौं: वैदेशिक रोजगारीका लागि भनि विभिन्न देशमा पठाइदिने भन्दै साढे १७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मकनवानपुर बकैया गाउँपालिका-५ घर भई नागार्जुन नगरपालिका-५ सीतापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार पक्राउ गरेको हो ।
सुवर्णले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एकजनालाई दुबई पठाउने भन्दै दुई लाख ४५ हजार रकम लिएको खुलेको कार्यालयले जनाएको छ । ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्’, कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने ।
दुवै जनालाई काठमाडौं छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको आचार्यले बताए ।
वि.सं.२०८१ मंसिर १२ बुधवार ०८:२८




















