अज्ञात समूहको गोली लागेर घाइते प्रधानाध्यापकको मृत्यु

वि.सं.२०८० कात्तिक १३ सोमवार १५:१९

बारा: अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक गुड्डु भनिने रुपेश सराफको मृत्यु भएको छ । उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे ।
सराफ बाराको कलैया उपमहानगरपालिका-६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक हुन् । सोमबार दिउँसो १ बजेतिर प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो । घाइते सराफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० कात्तिक १३ सोमवार १५:१९