कर्णालीमा पहिलोपटक सभामुख र उपसभामुख दुवै महिला

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:३५

काठमाडौं: कर्णाली प्रदेशले सभामुख र उपसभामुख दुवै पदमा महिला नेत्तृत्व पाएको छ । देश संघीयतामा गएपछि प्रदेशको सभामुखमा महिला निर्वाचित भएको यो पहिलो रेर्कड हो ।
प्रतिनिधि सभाको सभामुखमा छैटौं सभामुखको रुपमा ओनसरी घर्ती बनेकी थिइन् । तर प्रदेशमा महिला सभामुख बनेको भने यो पहिलो पटक हो । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ र उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएर इतिहास रचेका हुन् ।
आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् । साथै, बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भइन् ।
केन्द्रमा सत्ता गठबन्धनबीच भएको भागबन्डा अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार दलहरुले उम्मेदवार तय गरेका थिए ।
४० सदस्यीय रहेको प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ तथा स्वतन्त्रबाट १ जना सांसद छन् । सभामुख र उपसभामुख दुवै जनाले २४/२४ मत प्राप्त गरेका थिए ।
यसअघि कर्णाली प्रदेशसभामा ज्येष्ठ सदस्यका हैसियतले नेकपा एमालेका सांसद बिनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गरेका थिए । पुस १० गते केन्द्रमा भएको राजनीतिक फेरबदलपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री र नेकपा एमालेले सभामुख भएपछि शाह नै सभामुख हुने आंकलन धेरैको थियो । तर, शाह मन्त्री बन्ने भन्दै सभामुख पदबाट पछाडि हटे ।
त्यसपछि सभामुखका लागि मुगुका जीतबहादुर शाही, हुम्लाका कलबहादुर हमालको नाम चर्चामा थियो । तर, यी तीन जनाले पनि मन्त्री बन्ने मनशाय बनाएपछि एमालले अन्तिममा समानुपातिकतर्फ सुर्खेतबाट निर्वाचित सांसद नन्दा गुरुङलाई सभामुखमा अघि सारेको हो । उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्ग पोखरेललाई हराउँदै सभामुख बनेकी छन् ।
यस्तै, एमालेबाट सभामुखमा महिला आएपछि नेकपा माओवादी केन्द्रले पुरुष उम्मेदवार बनाउने धेरैको विश्वास थियो । तर, माओवादीले कालीकोटकी समानुपातिक सांसद यशोदा न्यौपनोलाई अघि सार्यो । न्यौपानेले कांग्रेस उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै उपसभामखुम बनेकी हुन् ।
अन्य प्रदेशसभा पदका लागि नेताहरुले तानातान गरेपनि कर्णालीमा पुरुष नेताहरूले महिलाहरूका लागि अवसर दिएका छन् । प्रत्यक्षतर्फ स्थान नपाउने महिलालाई पुरुष सांसदको मन्त्री बन्ने लोभले यसपाली भने कर्णाली संसदले नयाँ इतिहास रचेको छ ।
प्रदेशसभाको पहिलो कार्यकालमा ७ वटै प्रदेशले उपसभामुखमा महिला सांसदलाई थन्काएका थिए । तर, कर्णाली प्रदेशको दुवै पदमा महिला निर्वाचित हुँदै इतिहास रचेका छन् ।
समावेशीताको चर्को नारा लगाउने दलहरूले महिलालाई ३३ प्रतिशत सहभागी गराउनुपर्ने संवैधानिक बाध्यतालाई समानुपातिकमा सीमित गर्दै प्रत्यक्षतर्फ महिला प्रतिनिधित्वमा विगतकै अभ्यास दोर्याएका छन् ।

वि.सं.२०७९ माघ ६ शुक्रवार ०९:३५