सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गर्यो
वि.सं.२०७८ पुस १५ बिहीवार ११:०३
2.2K
shares
काठमाडौं: नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो ।
महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका-१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका-६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।
महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ पुस १५ बिहीवार ११:०३




















