एएफसी यू-२० एसियन कप छनोटमा नेपालको दोस्रो हार
वि.सं.२०७९ भदौ २८ मंगलवार ०६:५५
3.5K
shares
काठमाडौं: बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सोमबार राति भएको खेलमा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो ।
खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो ।
खेलको ६०औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३-१ ले विजयी भयो ।
जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारले पहिलो खेलमा ३ अंक जोडेको छ ।
लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।
यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन् ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
वि.सं.२०७९ भदौ २८ मंगलवार ०६:५५



















