धितोपत्र कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघ्यो
वि.सं.२०७७ पुस २७ सोमवार १४:२१
काठमाडौं: धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ ।
पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
आइतबार मात्रै २२ हजारभन्दा बढी डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । शुक्रवारसम्म २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेकोमा सोमवार यो संख्या २२ हजार ८३९ ले बढेको हो ।
हाल चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ निष्कासनमा रहेको छ । माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ करोड कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्दैछ ।
पछिल्लो समय दैनिक डिम्याट खाता खोल्नेको संख्या बढ्नुका प्रमुख कारण सबैको भागमा पर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नै रहेको छ ।
प्राथमिक बजारमा निष्कासन हुने शेयर पाउन भाग्य भरोसा रहनुपर्ने अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने सबै आवेदकलाई पर्ने निश्चित छ ।
यो सँगै धितोपत्र दोस्रो बजारले उच्च विन्दु कायम गर्दै अघि बढेकाले पनि धितोपत्र कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो ।
प्राथमिक बजारमा निष्कासित शेयरहरु दोस्रो बजारले गति लिएका कारण राम्रो मूल्यमा खरिद विक्री हुने गरेकाले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो ।
वि.सं.२०७७ पुस २७ सोमवार १४:२१