एनआइसी एशिया बैंकले ल्यायो ऋणीलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै आकर्षक छुट योजना
वि.सं.२०७७ असार १ सोमवार २३:४९
1.5K
shares
काठमाडौं: एनआइसी एशिया बैंकले आफ्ना सम्पूर्ण ऋणीहरुलाई ब्याज तथा नवीकरण शुल्कमा विशेष छुट दिने भएको छ । कोरोना भाइरस महामारीबाट बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट असार महिनाका लागि ब्याज तथा नवीकरण शुल्क सम्बधमा अत्यन्त आकर्षक योजना ल्याएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा कोरोना भाइरसबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा ऋणीहरूले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेका सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गरेको बैंकले असारमा पनि सोही योजना अगाडी सारेको हो ।
बैंकले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आसार मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने पनि बैंकले जनाएको छ । साथै बैंकले साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान हुनेछ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।
कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको जनाएको छ । यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सवलीकरणमा टेवा पुर्याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहकहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्राथमिकताको रुपमा लिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन बैंकले अनुरोध गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको पनि जनाएको छ । त्यसैगरी यस बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्ने ग्राहक महानुभावहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साताभित्रै सम्बन्धित ग्राहकहरूको खातामा जम्मा गरिसकेका ब्यहोरा समेत जानकारी गराएको छ ।
वि.सं.२०७७ असार १ सोमवार २३:४९



















