म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि
वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६
1.7K
shares
एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । इतिहाद स्टेडियममा गएराति सम्पन्न खेलमा पाहुना टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।
सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो । सिटीले यसअघि सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको थियो । पुन: उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो । सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टह्यामका मोहम्मद कुदुसले टीमका लागि सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमै फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए ।
खेलको १८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २-० मा पुर्याए । तर, ४२औँ मिनेटमा कुदुसले गोल गर्दै वेस्टह्यामलाई २-१ को स्थितिमा ल्याए । ५१औँ मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पुर्याए । ८९औँ मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३-२ को स्थितिमा ल्याएका थिए । तर, भिडियो असिस्टेन रेफ्री (भीएआर)ले उक्त गोललाई मान्यता दिएन । भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो ।
वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६




















