प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै
वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९
1.7K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जसपा नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा (२) को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लागेका हुन् ।
प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ । कांग्रेसले ‘गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएको छ ।
अर्कोतिर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा जसपाका अध्यक्ष अशोक राईसहित सात सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ । यद्यपि जसपा नेपालको विभाजन सम्बन्धी निर्णय यथास्थितिमा राख्न केही दिनअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९




















