बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५१
951
shares
काठमाडौं: नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षा समेत भइरहेको छ ।
आज दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । देशका बाँकी भूभागमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ । आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । बाँकी भू-भागको मौसम आंशिक बदली रहने अनुमान छ ।
आगामी २४ घण्टामा कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागहरुका एक/दुइ स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५१