एकै व्यक्तिद्वारा १ अर्ब ४९ करोडको अवैध कारोबारी
वि.सं.२०८० माघ १६ मंगलवार १५:३३
1.8K
shares
काठमाडौं: उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार गरी अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहका नाइकेलाई समातेको छ ।
प्रहरीले अनलाइन जुवा खेल्न र ठगीका लागि विभिन्न माध्यमबाट रकम लोड गरिदिने सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो । साहले मात्रै आफ्नो कम्पनीमार्फत सन् २०२१ देखि हालसम्मको दुई वर्षबीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको तथ्य कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको भेट्टाएको छ । साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जसता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको पनि भेट्टिएको छ । साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ । अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए ।
साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको हो । साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको पनि कार्यालयले जनाएको छ । अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए । ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ । यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन् ।
उता साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ । उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ । यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो । कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको हो । साहले अनलाइन जुवासहित अवैध कामका लागि क्रिप्टो करेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने काम पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वि.सं.२०८० माघ १६ मंगलवार १५:३३




















