आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
वि.सं.२०८० माघ १६ मंगलवार ०७:१९
2.8K
shares
काठमाडौं: नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि शहादत प्रदान गर्नेहरूको सम्मानमा आज शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाउने परम्परा छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ माशहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गर्ने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
वि.सं.२०८० माघ १६ मंगलवार ०७:१९




















