SEE का लागि सामाजिक विषयको तयारी
वि.सं.२०७९ माघ २८ शनिवार १६:०३
14K
shares
विद्यार्थी भाई बहिनीहरु,
SEE परीक्षाका लागि सामाजिक अध्ययन विषयको तयारी गर्दा शिक्षक र Question Bank को मात्रै भर पर्नु हुँदैन । किनभने यस विषयको अध्यन क्षेत्र निकै व्यापक छ । यस विषयभित्र आगमी शैक्षिक शत्रदेखि दश ईकाईहरु समावेश हुनेछन् । ति ईकाई छुट्टा-छुट्टै विषयवस्तुसँग सम्बन्धित छन् । जस्तै समाज शास्त्र, Anthropology (मानव शास्त्र), राजनीति शास्त्र, भूगोल, अर्थ शास्त्र, तथ्याङ्क शास्त्र, जनसंख्या, वातावरण, ईतिहास, वैदेशिक तथा कुटनैतिक सम्बन्ध, सामाजिकीकरण, पत्रकारिता ईत्यादि । एउटा शिक्षक यति धेरै विषय वस्तुको बारेमा पूर्णरुपमा पारङ्गत हुन स्वभावैले कम सम्भावना हुन्छ ।
त्यसैले आफूलाई शंका लागेको विषयवस्तुको बारेमा विद्यार्थी स्वयमले थप अध्यन गरी आवश्यक जानकारी हाँसिल गर्नुपर्दछ । यस विषयको पठन-पाठन पाठ्यक्रम विकास केन्द्र (नेपाल सरकार)द्वारा स्वीकृत प्राप्त पाठ्य पुस्तकको आधारमा गरिन्छ । आगमी शैक्षिक वर्षदेखि यस पुस्तकमा लगभग ५२ वटा मूल पाठहरु र १०० भन्दा बढी साहयक पाठहरु हुनेछन् । यी सम्पूर्ण पाठहरुको अध्ययन अध्यापन गर्नका लागि १२८ कार्य घण्टाको व्यवस्था गरिएको हुन्छ । अधिकांश विद्यालयका विषय शिक्षकले परम्परागत शैलीबाट नै अध्यापन गराउने परिपाटी भएकाले सबै पाठहरुलाई स-विस्तार अध्यापन गराई अभ्यास, परियोजना कार्य आदि सम्पन्न गर्न यथेष्ट समयको अपुग नै हुनेछ । तसर्थ, विद्यार्थीहरुले सबै पाठहरु आफू स्वयमले विस्तारपूर्वक अध्ययन गरी स्पष्ट नभएका कुराहरुका लागि विषय शिक्षकको मद्दत लिनु पर्दछ ।
सामाजिक अध्ययनको पूर्णाङ्क (१००) मध्ये २५ अंक आन्तरिक मुल्याङ्कन अन्तर्गत विषय शिक्षकको विवेकमा प्रदान गरिन्छ । शिक्षकले आन्तरिक मुल्याङ्कन गर्दा, परियोजना कार्य, सहभागीता, व्यवहार परिवर्तन (कुशलता), गृहकार्य, नियमित उपस्थिति आदिको विश्लेषण गर्ने गर्दछन् । आन्तरिक मुल्याङ्कनको अधिकतम अंक प्राप्त गर्न माथिका पक्षमा विद्यार्थीले आफूलाई अब्बल राख्नुपर्दछ । यसले विद्यार्थीलाई अन्तिम परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सहयोग गर्नेछ ।
सामाजिक अध्ययन विषयको प्रश्नलाई उत्तर लेखाईको विषयवस्तु र सिलसिलाको आधारमा समग्रमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ ।
(१) ज्ञान तथा बोधः
यस प्रकारका प्रश्नहरु तथ्यमा आधारित हुन्छन् । यस्ता प्रश्नको उत्तर सम्बन्धित पाठबाट जस्ताको तस्तै निकाल्न सकिन्छ । विद्यार्थीको मौलिकताको खासै आवश्यक पर्दैन ।
उदाहरणका लागिः
(क) संयुक्त राष्ट्र संघ कहिले स्थापना भएको थियो र नेपाल यसको सदस्य राष्ट्र कहिले भयो ? (अति छोटो प्रश्न)
(ख) संघीय र एकात्मक शासन प्रणालीका कुनै चार फरकलाई बुँदामा लेख्नुहोस् । (छोटो प्रश्न)
(ग) राष्ट्रिय सरोकारका विषयमा एउटा नागरिकका कर्तव्यहरुलाई सात बुँदामा समेटी प्रष्ट पार्नुहोस् । (लामो प्रश्न)
(२) प्रयोग तथा श्रृजनात्मक सिप
प्रयोग वर्गका प्रश्नमा नक्सा कार्य, वृत्तरेखा चित्र, स्तम्भ रेखाचित्र, समय रेखा, तालिका आदिमा आधारित प्रश्नहरु सोधिन्छन् भने श्रृजनात्मक सिप अन्तर्गत रचनामा आधारित प्रश्नहरु जस्तैः पत्रलेखन, निवेदन, समाचार, सम्पादकीय, संवाद, राजनैतिक दलको घोषणापत्र, भ्रमण प्रतिवेदन आदि समेटिन्छन् । यी प्रश्नहरु साधारणतया छोटो अन्तर्गत पर्दछन् । यस वर्गका प्रश्न र उत्तरलाई पाठ्यपुस्तकमा उल्लेखिय रुपमा समेटिएको पाईन्न । तसर्थ विद्यार्थी स्वयमले अन्य श्रोत सामाग्रीको प्रयोग गरी आफूलाई निपुण बनाउँदै लानुपर्दछ ।
(३) उच्च दक्षता
यस वर्गका प्रश्नहरुमा विद्यार्थीको मौलिक ज्ञान, तर्क क्षमता, विश्लेषण सिप आदिको निकै महत्व रहन्छ । यस्ता प्रश्नहरु विश्लेषण, समालोचनात्मक चिन्तन, मुल्य र अभिवृत्तिसँग सम्बन्धित हुने गर्दछन् । यी प्रश्नहरु अति छोटो तथा लामो तीनवटै वर्गबाट सोध्न सकिन्छ । विद्यार्थीले ती प्रश्नको अङ्कभारका आधारमा आफ्नो उत्तरलाई समायोजन गर्नुपर्ने हुन्छ ।
यसैगरि अङ्कभारका आधारमा प्रश्नलाई दुई किसिमले विश्लेषण गर्न सकिन्छ ।
(१) उत्तर लेखाईका आधारमा अंकभार
(क) ज्ञान तथा बोधबाट– ३७%
(ख) प्रयोग तथा श्रृजनशिलता सिपबाट– ३३%
(ग) उच्च दक्षताबाट– ३०%
गरि जम्मा- १००% अंक
(२) उत्तर लेखाईका आधारमा अंकभार
(क) अति छोटो ११ X १ = ११ अंक
(ख) छोटो– ९ X ४ = ३६ अंक
(ग) लामो– ४ X ७ = २८ अंक
कुल जम्मा- ७५ अंक
अब हामी एकैछिन विद्यार्थीको अध्ययन शैली, प्रश्नको प्रकृति र पाठ्य सामाग्रीको बारेमा मन्थन गरौं । माथि समावेश गरिएका उच्च दक्षता र प्रयोग तथा श्रृजनशीलता सिपसँग आधारित अभ्यासहरु उत्तर लेखनका नमुना र समयोचित प्रश्नहरु पाठ्यपुस्तकमा यथेष्ट रुपमा समावेश गरिएको हुँदैन । त्यसैले विद्यार्थीहरुलाई प्रश्नको प्रकृति बारे कमै थाहा हुन्छ । उनीहरु पाठ्यपुस्तकमा दिईएका ज्ञान तथा सिप र जानकारी भए पुगिहाल्छ नि भन्ने निष्कर्षमा हुन्छन् । त्यसैले उनीहरु पाठ्यपुस्तकको विवरणलाई धेरै महत्व दिन्छन् र तयारी पनि गर्दछन् । अन्तत परीक्षामा उनीहरुले नसोचेका र कल्पनासम्म नगरेका प्रश्नहरु देखा पर्दछन् । फलस्वरुप उनीहरु अलमलमा पर्दछन् र भने जस्तो उच्चकोटी उत्तर लेख्न सक्दैनन् ।
यसकारण उच्च क्षमता, प्रयोग र श्रृजनशिलता वर्गका प्रश्न सोधिन सकिने ईकाईका पाठहरुका आधारमा सम-समायिक प्रश्नहरुको खोजी गरी तयारी गर्नुपर्दछ । ती सम्बन्धित पाठबाट सम्भावित प्रश्नहरुको खोजी गर्न र उत्तर लेखन कार्यमा शिक्षकले पूर्ण रुपमा मद्दत गर्नुपर्दछ । परीक्षामा प्रश्न विशेषको उत्तर लेख्ने शैली र ढाँचा फरक हुने गर्दछ । अंकभारका आधारमा उत्तर कति लामो हुनुपर्दछ भन्ने पनि हेक्का राख्नु पर्दछ ।
आफूले बुझेको र सजिलो लाग्ने प्रश्न पाए भने विद्यर्थीले चार अंकको प्रश्नको उत्तर पनि एक पानासम्म लेख्ने गर्दछन् भने उता आफूलाई अप्ठ्यारो लाग्ने प्रश्न पाए भने सात अंक प्राप्त हुने प्रश्नको उत्तर पनि एकै अनुच्छेदमा टुंग्याई दिन्छन् । प्रश्नले मागेको भन्दा धेरं वा थोरै लेख्नु दुवै ठिक होईन । यसो गरेमा विद्यार्थीले अपेक्षा गरे अनुरुपको अंक प्राप्त गर्न कठिन हुन्छ ।
प्रयोग तथा श्रृजनात्मक सिप अन्तर्गतका प्रश्नको उत्तर बनाउँदा केही प्राविधिक पक्षहरु जस्तै संकेत, नापो, समावेश गरी आयतकार बाकसमा राख्न र सिर्जनात्मक प्रश्नको उत्तर लेख्दा आवश्यक सम्बोधनका लागि प्रयोग हुने विशेष शब्दहरु पनि छुटाउनु हुँदैन । यसैगरी श्रृजनात्मक अन्तर्गत लेखिने पत्र, निवेदन, समाचार, घोषणा पत्र, भ्रमण परियोजना, सम्पादकीय, ईत्यादि लेख्ने आ-आफ्नै ढाँचा हुन्छ । विद्यार्थीले त्यसलाई अनुसरण गर्नुपर्दछ । उत्तर पुस्तीका जाँचकीले यस्ता प्राविधिक पक्षको पनि मुल्यांकन गर्दछन् ।
परीक्षा कै बेलामा चाहिँ तल दिईएका जस्ता कुरामा ध्यान पुर्याउनु पर्दछः-
(१) प्रश्नपत्र पाउनु अगावै उत्तरपुस्तीकामा मार्जिन रेखाहरु कोरी सक्नुहोस् । देव्रेपट्टी २/३ से.मि. कापी छोडी मसिना डबल लाईनहरु कोर्नुहोस् । त्यसैगरी दाहिनेपट्टी १/२ से.मि. छोडि सिङ्गल लाईन कोर्नुहोस् ।
(२) प्रश्नपत्र पाउना साथ सबै प्रश्नहरु सरसर्ती एकपल्ट पढ्नुहोस् ।
(३) यदि नेपालीमा लेखिएको प्रश्नमा केही द्विविधा भएमा अंग्रेजी माध्यमको प्रश्न पनि पढ्नुहोस् ।
(४) प्रश्नको अंकभारको आधारमा प्रत्येक प्रश्नका लागि लगभग दिनुपर्ने समय पत्ता लगाई सही अनुसार गर्नुहोस् । जसबाट कुनैपनि प्रश्नहरु नछुटुन र अन्त्यमा सरसर्ती दोहोर्याउन पाईयोस् ।
(५) प्रश्नहरु उत्तरपुस्तीकामा नसार्नुहोस् तर प्रश्न नं. चाहिँ प्रष्ट हुने गरी लेख्नुहोस् ।
(६) जुनजुन प्रश्नको उत्तर आफूलाई सजिलैसँग लेख्न आउँछ, ती प्रश्नलाई पहिला गर्नुहोस् । सुरुमा नजानेको र द्विविधा भएका प्रश्नको उत्तरका घोत्लिएर समय खेर नफ्याँक्नुहोस् ।
(७) प्रश्न राम्ररी बुझेर प्रश्नले खोजेको उत्तर ट्याक्क दिनुहोस् ।
(८) कुनै दुई कुराको विभिन्नता एउटै बुँदामा दिनुपर्ने भए टेबल तालिका नबनाईकन दिनुहोस् । तर फरक अथवा भिन्नता एकभन्दा बढी भएमा तालिका बनाई प्रस्तुत गर्नुहोस् । सम्बन्धित भिन्नतालाई तालिकामा देखाउँदा उही लाईन र नं. मा राख्नुहोस् ।
(९) राम्रोसँग तिखो पारेको सिसा कलमको सहायताले मानचित्र (Map) जस्तै नेपालको नक्सा बनाउने, चित्रमा तथ्य इंगीत गर्ने, बारग्राफ, पाईचार्ट, टाईमलाईन ईत्यादि बनाउनुहोस् ।
(१०) म्याप, डाइग्राम्स, रिपोर्ट, चिठी-पत्र, समाचार आदिलाई बक्सभित्र राख्नुहोस् ।
(११) यदि तपाईलाई कुनै शब्दको अर्थ र प्रयोगमा द्विविधा भएमा त्योसँग मिल्दोजुल्दो अर्को शब्द लेख्नुहोस् ।
(१२) म्याप, चार्टस्, वारग्राफ, पाइचार्ट इत्यादि बनाउँदा संकेत (Index) दिनुहोस् ।
(१३) यदि कुनै प्रश्नको उत्तर बुँदागत रुपमा लेख्नुपर्ने भए प्रत्येक बुँदालाई नयाँ लाइन पंक्तिबाट सुरु गर्नुहोस् ।
(१४) प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि क्लोजिङ्ग लाइन कोर्न नभुल्नुहोस् ।
(१५) प्रत्येक थप गरेको उत्तरपुस्तीकामा आफ्नो सिम्बोल नम्बर लेख्नुहोस् ।
(१६) यदि कुनै पेज खाली छोड्नु पर्यो भने पुछारमा PTO लेख्नुहोस् ।
अन्तमा विद्यार्थी भाइबहिनीहरु हो राम्रोसँग उच्च अंक प्राप्त गर्नुहोस् । यो राष्ट्रको एउटा असल नागरिक बनिदिनुहोस् र तपाईको समाज, छरछिमेक आफन्त नातागोता तपाईको परिवार र आफ्ना आमाबुबा लगायत सबैको तपाईप्रतिको अपेक्षालाई सफल पारिदिनुहोस् । यही नै हाम्रो तपाईलाई हार्दिक शुभकामना छ । धन्यवाद ।।
लेखक स्वयम् शिक्षक हुनुहुन्छ र यो लेख लेखकको आफ्नो अनुभवमा आधारित छ । -सम्पादक
वि.सं.२०७९ माघ २८ शनिवार १६:०३



















