३२ राजनीतिक दलले समानुपातिक तर्फको बन्दसूची सच्याए, नाम फिर्ताको समय आज दिउँसो १२ बजेसम्म
वि.सं.२०७९ असोज १७ सोमवार १०:००
2.5K
shares
काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिक तर्फको बन्दसूची परिमार्जन गरेका छन् ।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
निर्वाचन आयोगका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् ।
प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वाग्मती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
अब बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलहरुले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिन चाहने उम्मेदरवारलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।
कसैले नाम फिर्ता लिएमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्नेछन् । निर्वाचन आयोगले नाम फिर्ता लिएको उम्मेदवारबारे आज दिउँसो तीन बजेसम्म सम्बन्धित दललाई जानकारी दिनेछ । अन्तिम सूची निर्वाचन आयोगले असोज २२ गते प्रकाशन गर्नेछ ।
वि.सं.२०७९ असोज १७ सोमवार १०:००



















