दलहरुद्वारा उपभोक्ता समितिको भेला बहिष्कार
वि.सं.२०७८ पुस २७ मंगलवार १२:०६
2K
shares
रामेछाप: स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिति बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का राजनैतिक दल तथा यहाँका उपभोक्ताहरुले उक्त समितिले बोलाएको भेला बहिष्कार गरेका छन् ।
स्थानीय सरकारले १८ महिना अगाडि पुरानो समितिलाई भंग गरेर ६ महिनाको लागि बनाएको नयाँ समितिले बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले बहिष्कार गरेको खाँडादेवी गाउँपालिका वडा नं ५ नेपाली काँग्रेसका इकाइ सभापति बिराज श्रेष्ठले बताए ।
पकरबास-भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्किम नं १ मा लामो समयदेखि उपभोक्ता समिति निर्माणको विषयलाई लिएर विवाद हुदै आएको थियो ।
खानेपानी उपभोक्ता समितिका ७ सय जना उपभोक्ताहरुको अपमान गर्दै स्थानीय सरकारले आफ्ना नजिकका मानिसहरुलाइ राखेर जबरजस्ति समिति बनाएकाले उक्त समिति अपारदर्शी हुनुका साथै आर्थिक अनियमितता समेत भएको हुन सक्ने भएकाले आफुहरुले भेला बहिष्कार गर्नुका साथै तत्काल निर्वाचन वा सर्वसम्मत तरिकाले उपभोक्तहरुको उपस्थितीमा नयाँ समिति बनाउनका लागि माग गरेको खाँडादेवी गाउँपालिका वडा नं ४ का नेपाली काँग्रेसका इकाइ सभापति हरि कार्कीले बताए ।
आज बोलाएको भेला अवैधानिक भएकाले आफुहरुले यो समितिले गरेको सम्पूर्ण हिसाव किताव सार्वजनिक नगरेसम्म भेला बहिष्कार गर्ने नेकपा माओवादी केन्द्र खाँडादेवी ४ का अध्यक्ष रामकृष्ण मानन्धरले बताए ।
वि.सं.२०७८ पुस २७ मंगलवार १२:०६




















