अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक
वि.सं.२०७८ भदौ २ बुधवार १५:२८
1.5K
shares
काठमाडौं: अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा मन्त्रालयमा मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन् ।
अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न ५ वटा उपलब्धिहरुको प्रक्षेपण गरेको छ। व्यापार सहजीकरण, यथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिका रुपमा राखिएको छ।
व्यापार सहजीकरणअन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्ने गरी यसलाई समयसापेक्ष, लागत प्रभावी र अनुमानयोग्य बनाइएको हुनेछ। यथार्थपरक राजश्व संकलनअन्तर्गत भन्सार कानुनको परिमार्जन र परिपालना गर्दै यथार्थपरक राजश्व संकलनमा वृद्धि गरिएको हुनेछ।
यस्तै समाजको संरक्षण एवं सुरक्षाअन्तर्गत मुलुकमा अवैध व्यापार र हानिकारक मालवस्तुहरुको आवागमनलाई निषेध गर्न मालवस्तुको परिवहन, ढुवानीका साधन र उपकरणहरुउपर निगरानी एवं नियन्त्रणका उपायहरु अवलम्बन गरिएको हुनेछ।
स्वचालित भन्सार प्रणालीअन्तर्गत भन्सार जाँचपासका सबै प्रक्रिया प्रविधिद्वारा स्वचालित गरिएको हुनेछ। देशभरका २९ वटा भन्सार कार्यालयमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुनेछ।
संगठनात्मक विकास र क्षमता अभिवृद्धिअन्तर्गत भन्सार प्रशासनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। आधुनिक भन्सारका मापदण्ड लागू गर्नका लागि संगठनात्मक क्षमता बढाइने लक्ष्य योजनामा समावेश गरिएको छ।
भन्सार सुधार योजनाले व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँचपासपछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारमा सुधार,व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पत्तिको संरक्षण, वातावरण र समाजको संरक्षणका क्षेत्रमा सहजीकरण् हुने अपेक्षा गरेको छ।
यस्तै सरोकारवालाबिच समन्वय र सञ्चार, सुदृढ जोखिम व्यवस्थापन, यथार्थपरक राजश्व संकलन, स्वचालित प्रणालीको विस्तार, वैदेशिक व्यापार तथ्यांक व्यवस्थापन, सदाचार र सुशासन प्रवर्द्धन, सामाजिक सुरक्षाका लागि नीति तथा प्रक्रियाहरुको एकीकृत ढंगले कार्यान्वयन जस्ता प्रतिफल छैटौँ भन्सार सुधार योजनाले अपेक्षा गरेको छ।
नेपालमा राज्यको उत्पत्तिसँगै सुरु भएको भन्सार प्रशासनले वि.सं. २०६० दखि भन्सार सुधार कार्ययोजना लागू गर्दै आएको छ। पाँचौँ भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न कार्यान्वयनमा ल्याइएको थियो।
यो पनी पढ्नुहोस् :
सिभिल लघुवित्त वित्तीय संस्थाले ६५ औं शाखा कार्यालय सञ्चालन
वि.सं.२०७८ भदौ २ बुधवार १५:२८



















