एनएमबी बैंकले एनएमबी सापटी कर्जा सेवाको सुरुवात
वि.सं.२०७७ कात्तिक १७ सोमवार १५:०६
2.2K
shares
काठमाडौं: एनएमबी बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित एनएमबी सापटी कर्जा सेवा सुरु गरेको छ । यो नेपालमै पहिलो पटक २४सै घण्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा सुविधा हो ।
उक्त सेवा बैंकसम्म नधाई मोबाइलको प्रयोगबाटै प्राप्त गर्न सकिन्छ । कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबीमा तलबखाता भएका तलबी कर्मचारीहरूलाई १ लाख रूपैयाँसम्म २४सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइनेछ । एनएमबी सापटी ग्राहकहरूको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको व्यक्तिगत कर्जा हो ।
यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्करहित माध्यमको रूपमा एनएमबी सापटी मोबाइल फोन प्रयोग गरेर लिन सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १७ सोमवार १५:०६



















