सशस्त्र प्रहरी बलको २५ जनाको टोली दार्चुलाको लिपुलेक प्रस्थान, चौकी स्थापना हुने
वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:५०
1.4K
shares
काठमाडौं: दार्चुलाको लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो ।
सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ । सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली त्यसतर्फ गएको हो ।
नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेपछि नेपालमा व्यापक विरोध भएको छ । सरकारले अतिक्रमित क्षेत्रको सीमा सुरक्षाका सशस्त्र प्रहरी चौकी स्थापना गर्न लागेको हो । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको चौकी स्थापना गर्न लागेको हो ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:५०



















