कोरोना भाइरसबाट विश्वभर छरिएका ७३ गैरआवासीय नेपालीको मृत्यु
वि.सं.२०७७ वैशाख २१ आइतवार १०:४७
1.4K
shares
काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गैरआवासीय नेपालीको मृत्यु संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् ‘युएइ’ मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।
डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २ सय ४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५सय ७० जना संक्रमणमुक्त भएको जनाइएको छ । मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
विश्वका २७ देशमा छरिएका गैरआवासीय नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १ सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।
वि.सं.२०७७ वैशाख २१ आइतवार १०:४७



















