एउटा शिक्षकको आँखामा प्रेम आचार्य प्रकरण
वि.सं.२०७९ माघ १५ आइतवार १७:४०
4.1K
sharesप्रेम आचार्यको मृत्यु एउटा अत्यन्त दुःखदायी, मर्मस्पर्शी सामाजिक घटना हो । यस घटनाले उनका सहदोर परिवारजन, नर-नाता साथीभाई, छरछिमेकी, सिङ्गो समाज र राष्ट्रलाई शोकाकुल र भावविहल बनाएको छ । राष्ट्रले एउटा हनोहार उद्यमी युवालाई सदाका लागि गुमाएको छ । जुन ज्यादै अप्रिय घटना हो ।
हाम्रो समाजमा यस्ता स्वयम् मृत्युवरण गर्ने आत्मघाती घटनाहरु श्रृंखलाकै रुपमा देखिन थालेका छन् । तर प्रेम आचार्यले आफ्नो मृत्युवरण गर्नुअघि लेखेको उनको आत्मकथाले समाजमा किन यस्ता घटना घटिरहेका छन् भन्ने कुराको उजागर गरिदिएका छन् । प्रेम आचार्यले आफू बाँचिरहनका लागि विभिन्न सम्बन्धित पक्षहरुसँग गरेको हार गुहार ज्यादै प्रशंसनीय र बहादुरीपूर्ण देखिन्छ । तर, हाम्रो घरपरिवार, समाज, नर-नाता र राष्ट्रका निकायहरु समेतको मौनताले उनमा अझ-अझ निरासाको स्तर बढ्दै गएको देखिन्छ । यही विन्दुमा सच्याउनै नसकिने भयानक त्रुटी भयो । यस्तो लाग्छ सायद कुनै निकायले उनलाई आँट भरोसा दिएका भए उनले यति कठोर निर्णय गर्ने थिएनन् होला । प्रेमको आत्मकथाले हाम्रो आर्थिक, सामाजिक मनोदशाको परिवेशलाई उदाङ्ग पारेकै छ । तथापी उनको मृत्यु प्रकरणलाई न त नकरात्मक न त सकारात्मक तर उचित र विवेकपूर्ण गहिरो विश्लेषण गरि सम्बद्ध जिम्मेवार निकायहरुले समाजमा यस्ता घटना नदोहोरिउन भन्ने तर्फ उन्मुख भई उचित विचार सम्प्रेषण गर्न जरुरी छ ।
प्रेमको आत्मा कथा पढ्ने जोसुकैले सहजै अनुमान गर्नसक्छ, उनी एउटा देशप्रेमी र साहसीक उद्यमी थिए । तर समय चक्रसँगै उनी आर्थिक बिचलनको चपेटामा पुगे । यसले उनको परिवार, नीजि जिवनमा विभिन्न तनावहरुको सामना गर्नुपर्यो । यो परिस्थिति बढ्दै गएर मृत्युवरणको अवस्थामा पुग्यो । सँगै सबै सपनाहरु चकनाचुर भए । जिवन जिवन रहेन । उनको आत्माकथाले नेपाल सरकारको नीति नियम, सम्बद्ध व्यापार साझेदारहरु, राजनेताहरु समाजका विभिन्न तह र तप्काका व्यक्तित्व, परिवारजन आदिलाई उनको दुर्भाग्यपूर्ण अवस्थाको जिम्मेवार बनाएको छ । जुन कुरा हाम्रो समाजमा विद्यमान छ र सबैले साक्षत्कार गरेकै तितो सत्य पनि हो ।
तसर्थ, ति तत् तत् व्यक्ति संस्था र निकायले आ-आफ्नो तर्फबाट हुन गएको कमिकमजोरीलाई आत्म आलोचना गरि सुधारका उपायहरु अवलम्बन गर्नुपर्नेछ । नेपाल सरकारका विद्यमान प्रचलित कानुन, नीति नियमहरु उद्योग व्यावसायका लागि उपयुक्त छैनन् भने तिनिहरुको यथाशिघ्र परिमार्जन गर्नुपर्नेछ । यसको साथै समाजका अगुवाहरु, प्रवुद्धवर्ग, मनोसामाजिक विश्लेषक, अभियान्ता, शिक्षक, अभिभावक सबैले हाम्रो समाज किन र कसरी यस्तो वरवरतापूर्ण निष्ठुर र विवेकहिन बन्दै गएको छ भन्ने बारे खोज र अनुसन्धान गरी यसको कारण र समाधानका उपाय पत्ता लगाउन ढिलो गर्नु भएको छैन ।
प्रेम आचार्यले जसरी रिस, आवेग वा उत्तेजनामा आएर आफ्नो प्राण त्याग गरे त्यो कार्य कदापी प्रशंसनीय छैन । जिवन जिउनका लागि हो । जिवन एउटा ईश्वरीय बरदान हो । हरेक जिवात्माले सम्भव भएसम्म अन्तिम क्षणसम्म पनि बाँच्ने प्रयत्न गर्दछ । यो प्राकृतिक र शास्वत तथ्य हो । नेपालीमा गीतकार भन्छन् यहाँ बस्नेहरुले सबकुछ पाउँछन् हिड्नेहरु हराउँदछन् । हाम्रो भोगाईहरु नै जिवन हुन् । त्यसैले हरेक भोगाई चाहे सुख होस् वा चाहे दुःख त्यो नै जिवनको अभिन्न पाटो हो भन्ने सम्झनु पर्दछ ।
मानिसले अति महत्वकांक्षी र विचार पनि लिनु हुँदैन । आफूले स्वयम् आफैलाई चिन्न र पहिल्याउन सक्नुपर्दछ । अरुको देखासेखी, प्रतिष्पर्धा, रिस आहारिसले हामीलाई जिवनको गलत बाटो तर्फ धकेल्न सक्दछ । सरल जिवन र उच्च विचार भएका व्यक्तिहरुमा सकारात्मकता पैदा हुन्छ । जसरी एउटा जंगलमा हिंस्रक जनावर, विषालु, किटपतङ, काँडा, खोल्सा, खाल्डा ईत्यादि विद्यमान हुन्छन् । त्यसैगरी मेरा समाजमा म पनि चारैतिरबाट गलत मनोवृत्तिका मानिसले म घेरिएको छु र मैले यिनीहरुबाट बच्दै आफ्नो यात्रा पुरा गर्नुपर्नेछ भन्ने सम्झिराख्नु पर्दछ । हाम्रो समाजमा ‘म खाउँ मै लाउँ अरु सब मरुन् दुर्वलहरु’ भन्ने जनहरु यततत्र जताततै फैलिएका छन् । तसर्थ मैले यस्ता स्वार्थी, लोभीपापी, जनहरुबाट बच्नु पर्नेछ र मेरो लक्ष्य प्राप्त गर्न सिर्फ म एक्लै छु भन्ने सम्झेर अगाडि बढ्दै जानु छ भन्ने बुझ्नु पर्दछ । भनिन्छ जो एक्लै उभिन सक्छ उही नै सबैभन्दा शक्तीशाली हो । यस्तो मनोभाव लिएर आफ्नो लक्ष्य तर्फ अगाडि बढेको मानिसले कसैको आस र भरोसा गर्ने छैन । उ सकारात्मक भई आफ्नो लक्ष्य तर्फ निरन्तर अगाडि बढिरहनेछ ।

समाजमा यस्ता घटनाहरु बराबरी घटिरहे भने समाज बरबरता तर्फ लाग्छ अशम्य र जंगली बन्दछ । मानवीय मूल्य र मान्यतामा ह्रास आउँछ । यसले हाम्रो समाज र राष्ट्रको गरिमामा नराम्रो असर पार्दछ । अन्तरराष्ट्रिय जगतसम्म नकारात्मक सामाजिक सन्देस जानेछ र राष्ट्रको सम्मानमा चोट पुग्नेछ ।
हाम्रो समाजमा आफूलाई परिस्थितिको फाईदा उठाउँदै दानी, ज्ञानी, परोपकारी देखाउने नव बुझ्रुक र धनाड्यहरुको खाँचो छैन । यस्ता मानिसहरु स्वदेशदेखि विदेशसम्म छरिएर रहेका छन् । यहाँ दान दात्व्य, चन्दा, चिप्लो कुराले समाज बदल्न सकिन्न । समाज बदल्न त समस्याको जरोसम्म पुगेर त्यसको पहिचान र निराकरण गर्न जरुरी हुन्छ । यसका लागि राज्य, समाज र व्यक्ती स्वायमले आ-आफ्नो तर्फबाट अहम् भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हाम्रो देशको सामाजिक परिपाटी र राज्यका नीति नियममा थुप्रै कमीकमजोरी र खोटहरु छन् भन्ने सबैले बुझेकै कुरा हो । सामुहिक प्रयास मार्फत हामीले त्यस्ता खोटहरुको निराकरण र उन्मुलन गर्दै सामनता, समता, न्यायका आधारमा सबैका लागि अवसरको सिर्जना गर्दै एउटा सभ्य सुसंस्कृत, सम्वृद्ध नेपाली सेमाजको निर्माण गर्नु आजको पिडीको अपरिहार्यता भएको छ ।
वि.सं.२०७९ माघ १५ आइतवार १७:४०





















