कोरोना भाइरस संक्रमणका कारण शैक्षिक क्षेत्र प्रभावित, शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का
वि.सं.२०७७ वैशाख ४ बिहीवार २०:२२
1.4K
shares
काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । कोरोनाका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ ।
कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए । प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए । अधिकांश विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए ।
वि.सं.२०७७ वैशाख ४ बिहीवार २०:२२



















