आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५
258
shares
काठमाडौं: प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज शहीद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाइन्छ ।
कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो । विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो ।
क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो । २०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो । त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा विसं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो ।
विसं २०१७ सालपछि दलमाथि प्रतिबन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा पर्यो । काठमाडौं नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने विशेष कार्यक्रमका साथ मनाउन थालियो । महानगरले आज पनि विशेष समारोह गरी शहीद दिवस मनाउँदै छ । लखन थापालाई नेपालका पहिलो शहीद मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद–शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ ।
वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५



















