सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : प्रधानमन्त्री सुशीला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:२४
537
shares
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन् । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले समय अनुसार जनताका मागप्रति राज्य गम्भीर संवेदनशील नभएकै कारण युवापुस्ताले आन्दोलन गर्नुपरेको तर्क गरेकी छिन् ।
जनभावनाको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको भन्दै राज्य संयन्त्रले कमीकमजोरीप्रति आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा लाग्नुपर्ने बताइन् । पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । ‘जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ । जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो’, उनले थपिन्, ‘यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ ।’
उनले आफू पदको लोभका कारण नआएको भन्दै युवाहरूको मागसमेतलाई दृष्टिगत गरी निर्वाचन गराउने कार्यभार पूरा गर्न आएको बताइन् । ‘म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन’, उनले भनिन्, ‘देश सङ्कटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोधसमेतका आधारमा चुप लागेर बस्न नसकी सङ्क्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत् जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ ।’
संविधानमा परिवर्तन भन्दा पनि त्यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेको बताइन् । उनले आफूलाई दिइएको अभिभारा पूरा गर्न हरतरहले लाग्ने बताइन् । उनले जनतामा धेरै असन्तुष्टि रहेको र एकैचोटी सम्बोधन गर्न कठिन भए पनि क्रमश: पूरा गर्दै जाने बताइन् । राज्यका सबै संयन्त्रसँगै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो ।

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:२४