लेन्सबाट देखिएको जेन-जी आन्दोलन

वि.सं.२०८२ असोज ३ शुक्रवार १५:५०
588
shares
काठमाडौंको मुटुमा रहेको माईतीघर मण्डला । जहाँ हजारौ आन्दोलको सुरुवात हुने स्थान हो । यसै माईतीघर मण्डला साँक्षी भएको भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलन एकाएक रणमैदानमा परिणत भयो । सडकमा उत्रिएको जेन-जीहरुको भीडमा मैले एउटा नयाँ पुस्ताको आक्रोश, उत्साह र परिवर्तनको आशाले भरिएको भावुक र उत्प्रेरित अनुहार देखेँ । बढ्दो भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जाल बन्दका कारण सुरु भएको जेन-जी आन्दोलनले उथलपुथल मच्चायो ।
मेरो क्यामेराको लेन्सबाट मैले खिचेको हरेक तस्बीरले एउटा कथा भन्छ- यो कथा हो हजारौ जेन-जीको आवाज । जसले आफ्नो आवाज बुलन्द पार्न र परिवर्तनका लागि सडकमा पाइला चाल्न हिच्किचाएनन् । तर, यो आन्दोलनको एउटा पाटो मात्र होइन, यसको अर्को पाटो पनि छ । जुन पीडादायी र विनाशकारी छ । फोटो पत्रकारको रूपमा, मैले यो आन्दोलनलाई नजिकबाट नियाल्ने र यसका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने अवसर पाएँ । सुरुमा, मैले खिचेको तस्बीरहरूमा केवल रचनात्मकता, आशा र न्यायको आवाज मात्र थियो । तर, जब आन्दोलन हिंसात्मक मोडतिर मोडियो, मेरो क्यामेराको लेन्सले फरक दृश्यहरू कैद गर्न थाल्यो ।

मेरो लेन्सका दुई भिन्न कथाहरू
पहिलो कथाः आन्दोलनको सुरुवाती दिनहरूमा मैले खिचेको तस्बीरले आशा जगाउँथ्यो । हरेक युवाहरुका हातमा परिवर्तन र राजनैतिक अबिश्वासका प्लेकार्डहरु थिए । एक युवाले आफ्नो टाउको माथि एउटा प्लेकार्ड समातेका थिए, जसमा लेखिएको थियो “कलम लिएर पढ्न उमेरमा हतियार बोकेर लड्ने मेरो देशको कस्तो भाग्य !” उनको अनुहारको भाव र यो तस्बीरले देखाउँथ्यो कि यो पुस्ता हिंसा होइन, शान्तिपूर्ण तरिकाले परिवर्तन चाहन्छ । यो तस्बीरले उनीहरूको आक्रोशलाई रचनात्मक र जिम्मेवार तरिकाले प्रस्तुत गर्यो ।
दोस्रो कथाः जब आन्दोलनले उग्र रूप लियो, त्यही रचनात्मकताको ठाउँ विनाशले लियो । शान्तिपूर्ण भनिएको आन्दोलनमा अस्रु ग्याँस, पानीका फोहोरा मात्र चलेन गोली पनि चल्यो दुई/चार युवाहरु भुईमा ढले । त्यसपछि जेन-जी आन्दोलनले अर्को मोड लियो । आन्दोलनको भोलिपल्ट देशका विभिन्न ठाउँमा आगजनी भए ठुलो धनराशीको क्षति भयो । त्यस दिन मैले सडकको बीचमा दन्किरहेको आगो बलिरहेका भवनहरुको दृश्य कैद गरेँ । मानिसहरूको अनुहारमा देखिएको रिस र निराशाले भरिएको उनीहरूको पीडालाई दर्शाउँथ्यो । त्यो जलेको संरचना हेर्दा मलाई लाग्यो, यो संरचना मात्र जलेको छैन, यसले समाजको विश्वास पनि जलाएको छ । यो आन्दोलनको विनाशकारी पाटो हो, जसले केही क्षणको आक्रोशलाई दीर्घकालीन क्षतिमा परिणत गर्यो ।

अझै हृदयविदारक दृश्य त के थियो भने सार्वजनिक सम्पत्तिहरु जलेर खरानी भइरहेको तस्बीर थियो । धुवाँको मुस्लोले आकाश ढाकिएको थियो र आगोको रातो रापले पुरै भवनलाई निलेको थियो । यो भवन केवल एउटा संरचना मात्र थिएन । यो नागरिकको करबाट बनेको सम्पत्ति थियो । यसले हामीले आफैंले बनाएको संरचनालाई आफैंले नै ध्वस्त पारेको देखिन्छ । यसरी भएको भौतिक क्षतिले समाजलाई विकासको बाटोमा पछाडि धकेल्छ ।
यो आन्दोलनले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । हरेक आन्दोलनको दुई पाटा हुन्छन्- एउटा आशा र अर्को निराशा । रचनात्मकता र विनाशको रेखा एकदमै पातलो हुन्छ । जब त्यो रेखा पार गरिन्छ, तब उद्देश्य हराउँछ र केवल क्षति मात्र बाँकी रहन्छ । मेरो लेन्सले जेन–जीको दुवै रूपलाई कैद गरेको छ । एउटा, जो आफ्नो हकको लागि शान्तिपूर्ण तरिकाले बोल्छ र अर्को जो आफ्नो आक्रोशलाई नियन्त्रण गर्न नसकेर विनाशमा परिणत हुन्छ ।
यी तस्बीरहरूले हामीलाई सम्झाउनेछन् कि आन्दोलनको शक्ति रचनात्मकतामा निहित हुन्छ । हिंसा र विनाशमा होइन । जेन-जीले नयाँ अध्याय सुरु गरेको छ । जहाँ उनीहरूले आफ्नो आवाजलाई विश्वसामु राख्न डराउँदैनन् । तर अब उनीहरूले यो पनि बुझ्न जरुरी छ कि हरेक आन्दोलनको अन्तिम उद्देश्य परिवर्तन हुनुपर्छ, विनाश होइन ।







वि.सं.२०८२ असोज ३ शुक्रवार १५:५०