आज १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस, संसारभर बिभिन्न कार्यक्रमको आयोजना गरी मजदुर दिवस मनाईदै
वि.सं.२०८२ वैशाख १८ बिहीवार १०:४३
1.6K
shares
काठमाडौं: आज मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस । संसारभर बिभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाईदै छ । मजदुर दिवसको अवसरमा नेपालमा पनि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरि मनाईदैछ ।
मजदुरहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर ७ जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो ।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको बैठकले विश्व मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा २००३ सालमा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक २०१९ सालमा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।
दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
वि.सं.२०८२ वैशाख १८ बिहीवार १०:४३




















