लागूऔषधविरूद्ध प्रहरीसँग सबै क्षेत्र जोडिंदै
वि.सं.२०८२ वैशाख १७ बुधवार १५:३६
2.9K
shares
काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेलगत्तै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समाजमा गहिरो गरी जरो गाडेको लागूऔषधविरुद्ध सबै क्षेत्रको सहभागिता र प्रतिबद्धता जुटाएर सुरक्षित उपत्यका बनाउने अभिप्रायका साथ शुभारम्भ गरेको ‘लागूऔषधविरुद्धको महाअभियान’ मा यतिबेला सबै क्षेत्र जोडिने र प्रतिबद्ध हुने क्रम बढ्दो छ । यसै क्रममा ‘लागूऔषधविरूद्धको महाअभियान’ कार्यक्रमअन्तर्गत लागूपदार्थ दुर्व्यशनविरुद्ध अन्तर्क्रिया तथा सचेतना कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वरको संयुक्त आयोजना तथा सायम कलेजको सहकार्यमा सञ्चालन भएको थियो । लागूऔषध दुर्व्यशनको तथ्याङ्क दिनानुदिन बढ्दै गइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा ‘लागूऔषधविरूद्धको महाअभियान’ कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो ।
कार्यक्रमका क्रममा अन्तर्क्रिया साथै उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई परामर्शपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यबशनको नियन्त्रणमा यस्ता सचेतना कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित प्याव्सन तथा एनप्याव्सन साथै अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै लागूऔषध दुर्व्यशनविरुद्धको अभियानलाई थप सशक्त बनाउने बताए ।

आसरा सुधार केन्द्र रानीबारीका बिपिन थापाले प्रशिक्षण दिएको उक्त कार्यक्रममा प्रहरी वृत्त बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलिया, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर, घट्टेकुलो र चाबहिलका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, होस्टल व्यवसायी संघ नेपालका पदाधिकारीहरु, लगायतको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, काठमाडौं उपत्यकालाई लागूऔषधमुक्त बनाएर सुरक्षित काठमाडौं उपत्यकाको पहिचान दिलाउने अभिप्रायका साथ लागिपरेका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले शान्ति-सुरक्षा, अमन-चैन चुस्त-दुरुस्त राख्दै नागरिकको सेवामा संयमताका साथ लागिपर्न उपत्यका माताहतका नेपाल प्रहरीका सुरक्षा युनिटहरुलाई बारम्बर सम्झाउँदै आएका छन् ।
वि.सं.२०८२ वैशाख १७ बुधवार १५:३६



















