गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

वि.सं.२०७९ पुस २५ सोमवार १६:०६

कास्की: नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए । अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् ।
अधिकारीलाई स्वतन्त्र सांसद हैसियतले राजीव गुरुङले समेत समर्थन जनाएका छन् । आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो ।

वि.सं.२०७९ पुस २५ सोमवार १६:०६