गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदै

वि.सं.२०७९ पुस २४ आइतवार ०८:५५

काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले आज परिक्षण उडान हुने भएको छ ।
आज बिहान ११ बजे परिक्षण उडान हुने जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ । जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी समेत आउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
१८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौँ फर्कने छ । प्राधिकरणले प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ ।

वि.सं.२०७९ पुस २४ आइतवार ०८:५५