क्वारेन्टाइनमा युवकको मृत्यु भएपछि कांग्रेसले उठायो सात प्रश्न, नागरिकको जीवनप्रति खेलबाड गर्न पाइन्छ ?
वि.सं.२०७७ जेठ ५ सोमवार १५:४३
1.3K
shares
काठमाडौं: नेपाली कांग्रेसले बाँकेको नरैनापुरस्थित क्वारेन्टाईनमा कोरोनाका कारण युवकको मृत्यु भएको घटनामा सरकारको गम्भीर लापरवाही भएको औंल्याएको छ । सोमबार विज्ञप्ति प्रकासित गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजर अन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुने’ चेतावनी पनि दिएका छन् ।
यस्ता छन् कांग्रेसका ७ प्रश्न
१. ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाईनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पुर्याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
२. क्वारेन्टाईनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?
३. एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ?
४. आइतबार बिहान ७:०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाईनमा बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?
५. लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?
६. नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाईनको यस्तो अव्यवस्थित स्थिति देखि परीक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेको बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?
७. श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहिी चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?
नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिँदै कांग्रेसले भनेको छ, ‘एउटा मात्रै जीवन गुम्नु पनि सम्बन्धितको सतप्रतिशत गुम्नु हो, अनि परिवारजनले भोग्ने अपुरणीय क्षति । ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामनाहरु तब सार्थक हुनेछन् जब उनको मृत्युसँग सम्बन्धित प्रश्नहरुको गहिरो समिक्षा गरेर सरकार आत्मआलोचित हुनेछ र यो घटना पश्चात् कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरित ब्यवस्थापन गर्ने तयारीमा लाग्नेछ ।’
वि.सं.२०७७ जेठ ५ सोमवार १५:४३



















