लकडाउनले गाउँको मुहार फेरिँदै
वि.सं.२०७७ जेठ ५ सोमवार १६:२४
1.5K
shares
रामेछापः सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागु गरेको लकडाउनका कारण यति बेला गाउँघरको मुहार फेरिएको छ । कामको खोजिमा शहर पसेका सर्वसाधारण गाउँ फर्किएपछि जिल्लाका अधिकांश गाउँको मुहार फेरिएको हो ।
लेक तथा बेसी प्रायः सबैजसो ठाउँमा यतिबेला खेतीको सिजन परेको र उक्त सिजनसँगै गाउँ फर्किएका युवा युवतीहरुले लामो समयदेखि बाँझो परेको आफनो जमिनमा खनजोत गरि बाली लगाएका छन् । जसका कारण धेरैजसोको खेतबारीमा तरकारी र तुलफुलले भरिएको छ ।
गत फागुन चैतमा भएको वर्षादले पनि गाउँको मुहार फेर्नलाई थप सहयोगी भुमिका खेलेको उनीहरुको अनुभव छ । खेतबारीमा खनजोत गर्न पर्याप्त जनशक्ति भएपछि कतिपय युवाहरुले सामुहिक मिलेमतोमा बारीका कान्ला खन्ने देखि बुट्टा उखलेर खेतीयोग्य जमिन बनाएको रामेछाप नगरपालिका बडा नं ८ का गिरेन्द्र भुजेलले बताए ।
उनका अनुसार आफनो टोलमा मात्र नभएर अन्य गाउँमा पनि जम्मा भएका युवाहरु आफनो खेतबारीमा मकै छर्ने र गोड्ने अनि जोत्ने काम पनि सकिसकेका छन् । काम सकिएसँगै कतिपयले आफनो बर्षोदेखिको बाँझो खोरिया फाँडेर सुन्दर र खेतीयोग्य बनाएका छन् । त्यस बाहेक भुकम्प पछि बनेका र पुर्णता पाउन नसकेका तथा गुनासोमा सम्बोधन भएका घरहरुले पनि यतिनै बेला पुर्णता पाउने क्रमले तिब्रता पाएको छ ।
अधिकांस युवाहरुले लकडाउनको समयलाई सकरात्मक तरिकाले बिताईरहेका छन् । करिव डेढ महिनादेखि नियमित घरमा बसेका कतिपय युवाहरु केही समय राम रमाईलोमा भुलेको भएपनि सरकारले लडाउनको समय बढाएसँगै जिम्मेवारीपुर्ण तरिकाले काममा लागेकाले बढेको हरियालीले गाउँको मुहारनै फेरिएको रामेछाप नगरपालिका वडा नं ४ का वडाध्यक्ष टुपेन्द्र तामाङ्ले बताए । यो अवस्थालाई नजर अन्दाज गर्दा रोजगारीको लागि बाहिरिएका धेरै युवाहरु गाउँ फर्कने प्रायः निश्चित जस्तै भएको छ । यसलाई युवा र हामी जस्ता स्थानीय सरकारहरुले पनि साथ दिन सक्ने हो भने स्थानीय उत्पादनमा पनि स्वाभाविक रुपमा बृद्धि हुन गई आए आर्जनका ढोका खोल्ने निश्चित जस्तै भएको पनि उनले बताए ।
गाउँदेखिको तरकारीको अभावलाई पनि स्थानीय युवाहरुको प्रयासले केहि हदसम्म कतिपय ठाउँमा पुरा गरेको छ । परिणाम धेरै ठाउँका युवाहरुले तरकारी खेतीलाई पनि संगसंगै लगेका छन् । एकातिर युवाहरुको सक्रियता र अर्कातिर मौसमले पनि साथ दिएकोले यस वर्षको हिउँदेवालीको उत्पादनम बृद्धिहुन सक्ने अनुमान पनि कृषि प्राविधिकहरुले गरेका छन् ।
वि.सं.२०७७ जेठ ५ सोमवार १६:२४



















