पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि
वि.सं.२०८२ पुस २५ शुक्रवार ११:०५
924
shares
एजेन्सीः पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि उचालेको छ । कुवेतमा पिएसजीले मार्सेइविरुद्ध इन्जुरी टाइममा बराबरी गोल फर्काउँदै पेनाल्टी सुटआउटपछि मार्सेईलाई हराउँदै लगातार चौथोपटक उपाधि जितेको हो । २-२ को बराबरीपछि पेनाल्टी सुटआउटमा पिएसजी ४-१ ले विजयी भएको हो ।
च्याम्पियन्स लिग विजेता पिएसजीले खेलको १३औं मिनेटमा उस्मान डेम्बेलेको गोलमार्फत अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा मार्सेईले उत्कृष्ट पुनरागमन गर्यो । मेसन ग्रिनवुडले ७६औं पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा विलियन पाचोले आत्मघाती गोल गर्दा मार्सेई अग्रता लिएको थियो ।
खेलको अतिरिक्त समयको पाँचौं मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए । पेनाल्टीमा पिएसजीका गोलकिपर लुकास चेभालिएर नायक बने । उनले म्याट ओराइली र हामेद त्राओरेका पेनाल्टी बचाए । पिएसजीका तर्फबाट रामोस, भिटिन्हा, नुनो मेन्डेस र डेजिरे डोउएले पेनाल्टी गोल गरेपछि पिएसजीले ४-१ ले विजयी भयो ।
कीर्तिमानी १४ पटक फ्रेन्च सुपर कप जितिसकेको पिएसजीले पछिल्ला १३ वर्षमध्ये १२ पटक यो उपाधि जितेको छ । यो खेल लिग वान विजेता र फ्रेन्च कप विजेताबीच हुने गर्दछ । तर गत सिजन पिएसजीले लिग वान र फ्रेन्च कप जितेको थियो। त्यस्तैले सुपर कपमा लिग वानको उपविजेता मार्सेईसँग प्रतिस्पर्धा भएको हो । जितसँगै पिएसजीको २०२५/२६ को जारी सिजनमा यो तेस्रो उपाधि हो । यसअघि पिएसजीले सुपर कप र इन्टरकन्टिनेन्टल कप पनि पेनाल्टीमार्फत जितेको थियो ।
वि.सं.२०८२ पुस २५ शुक्रवार ११:०५




















