नेपालको एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसीबीचको खेल बराबरीमा टुंगियो
वि.सं.२०८२ पुस २ बुधवार २१:१३
1.6K
shares
काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालको एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको खेल बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगाल फाइनलमा पुगिसकेका थिए ।
आजको खेलमा एपिएफले पहिलो रोजाइका रेनुका नगरकोटी, सरु लिम्बू, अनिता केसीलाई आराम दिएको थियो । दोस्रो हाफमा अनिता, सरु र रेनुका मैदान प्रवेश गरेका थिए । दुबै टोलीले केही मौका पाए पनि गोल गर्न सकेनन् ।

एपिएफले खेलेका ४ मध्ये २ मा जित र २ मा बराबरी गर्दै ८ अंक जोडेको छ । अर्कोतर्फ शीर्षस्थान इस्ट बंगालले ४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंक जोडेको छ । एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो । दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० गोल अन्तरले हराएको थियो ।
शीर्षस्थानमा रहेको इस्ट बंगालले ट्रान्सपोर्टलाई ४-०, कराँचीलाई २-० र नासिरलाई ७-० गोल अन्तरले हराएको थियो । दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपिएफले ५ गोल मात्रै गर्न सकेको छ । इस्ट बंगालले १३ गोल गरिसकेको छ । एपिएफले उपाधि जित्नका लागि च्याम्पियनसिपको बलियो टोली इस्ट बंगाललाई हराउनुपर्नेछ । शनिबार एपिएफ र इस्ट बंगालबीच फाइनल खेल हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ ।
वि.सं.२०८२ पुस २ बुधवार २१:१३



















