नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै
वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२
2.1K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ । फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता रहेको छ ।
नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसिया बाहेक बाहिरका टोलीसँग पनि खेल्दै आएको छ ।

प्रतियोगितामा सहभागी चार वटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सबै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन् । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरु खेल्नका लागि तयार रहेको बताए । यसैगरी पत्रकार सम्मेलनमा कीर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट खेल्ने दाबी गरेका थिए ।
ओलम्पिक छनोट अन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो । नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो ।

खेल तालिकाः
फागुन ५ गते
म्यानमार विरुद्ध लेवनान : दिउँस २ बजे
नेपाल विरुद्ध किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान विरुद्ध म्यानमार : दिउँस २ बजे
नेपाल विरुद्ध लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान विरुद्ध लेवनान : दिउँस २ बजे
नेपाल विरुद्ध म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल: साँझ ६ बजे
वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२



















