आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार ११:१३
1.2K
shares
काठमाडौं: नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीका खेलाडीको ट्याकलमा परेका थिए । उनको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाले जनाएको छ ।
खेलको ३७औं मिनेटमा युनानका मोरी मेडेले उनीमाथि ट्याकल गरेका हुन् । उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए । उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमा मैदान बाहिर निकालिएको थियो । लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बि एन्ड बी हस्पिटलमा ‘रिफर’ गरिएको एन्फाले जनाकारी दिएको छ ।
चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण खेलमा नेपालको युवा टिमलाई २-० गोल अन्तरले हराउँदै चीनको युनान टिम विजयी भएको छ ।
शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै नेपालको युवा टोलीलाई दबाबमा राखेको थियो । खेलको २०औं मिनेटमा मिनग्यु युले बक्स बाहिरबाट हानेको लामो प्रहार गोलमा परिणत भयो । पहिलो हाफमा चीनको युनान टिमले १-० को अग्रता बनायो । दोस्रो हाफमा पनि नेपाल खेलमा फर्कन सकेन् । खेलको ७८औं मिनेटमा वाङ बिनहानले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । यो पटक चीनले गत वर्ष भन्दा बलियो टिम मैदानमा उतार्दै जित निकालेको हो । गत संस्करण भने नेपालले मैत्रीपूर्ण खेल जितेको थियो ।

वि.सं.२०८१ फागुन ४ आइतवार ११:१३