चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९
573
shares
काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार दिउँसो २:३० बजे हुने भएको छ ।
नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालका मुख्य प्रशिक्षक राजेश शाहीले डिफेन्डर सीमान्तलाई कप्तानी जिम्मेवारी दिएका छन् । मैत्रीपूर्ण खेलअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आयोजना पत्रकार सम्मेलनमा उनी कप्तानको भूमिकामा उपस्थित थिए ।
सीमान्तले यसअघि श्रीलंकामा सन् २०२२ मा भएको यु-१७ साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरिसकेका छन् । उनीसँग गत वर्ष घरेलु मैदानमै भएको यु-२० साफ च्याम्पियनसिप र चाइनिज ताइपेइमा भएको एएफसी यु-२० कप छनोट खेलिसकेको अनुभव छ ।
नेपालले गत वर्ष पनि चिनियाँ युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५–१ ले विजयी भएको थियो । यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ लगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने बताइएको छ ।

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९