इराकमाथि नेपालको सानदार जित, साम्बा एक्लैले गरिन् ५ गोल
वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:२६
1.7K
shares
काठमाडौं: साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिकसहित ५ गोल गरेपछि नेपाल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा इराकमाथि नेपालले ५-० गोल अन्तरको फराकिलो जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । सो खेलमा समेत सावित्राले एक गोल गरेकी थिईन् । च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।
पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो । खेलको १४औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो । १७औँ मिनेटमा साम्बाको व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्यो । साम्बाले इराककी गोलरक्षकले रिलिज गरेको बल डिफेन्डरबाट खोस्दै गोल गरेकी थिइन् ।

खेलको ३७औँ मिनेटमा पूजा रानाको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ४३औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा नेपालले पहिलो हाफमा नै ४-० को अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा केही आक्रमण बुने पनि नेपालले गोल गर्न सकेन । खेलको ८०औँ मिनेटमा साम्बाले पाचौँ गोल गरिन् ।
इराकविरुद्धको खेलबाट फरवार्ड चन्द्रा भण्डारीले डेब्यु गरेकी छिन् । ७९औँ मिनेटमा रेखा पौडेलको स्थान लिँदै चन्द्राले राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।
हेर्नुहोस् हाईलाईट्सः
वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:२६




















